२१ आश्विन २०७७, बुधबार

काठमाडौं, २१ असोज । म्याद गुज्रेको आफ्ना खाद्य सामग्रीहरुमा रिलेबलिङ गरेर वितरक कम्पनीहरुमार्फत बजारमा पठाउँदै आएको विशाल ग्रुपको निर्माण सामग्री पनि गुणस्तरीय नभएको पुष्टि भएको छ ।

विशाल ग्रुपको नाममा रहेको कमला रोलिङ मिल्स स्टिल्सले उत्पादन गर्दै आएको स्टिल डण्डी गुणस्तरहीन भएको भन्दै उत्पादन इजाजतमा नै रोक लगाइएको छ ।

घर भवन तथा अन्य भौतिक संरचना निर्माणमा जुटेका व्यक्ति तथा कम्पनीहरुले गरेको गुनासो र उजुरी पछि सरकारी निकायले कमला रोलिङ मिल्सको मोरङस्थित उद्योगको उत्पादनमा चासो देखाएको थियो ।

ल्याब परीक्षण पश्चात उत्पादित स्टिल्स डण्डी गुणस्तरहीन भेटिएपछि नेपाल नापतौल तथा गुणस्तर विभागले गत असार २६ गते नै कम्पनीको उत्पादन इजाजत रद्द गरिदिएको विभागले जनाएको छ ।

विभागले गत असारमा गरेको नमूना संकलनको ल्याब परीक्षण गर्दा गुणस्तरहीन भेटिएपछि इजाजत रद्द गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले न्यूज २४ लाई बताउनुभयो ।

विभागले गुणस्तरहीन सामान उत्पादन गरेको पाइएपछि कम्पनीलाई स्पष्टीकरण सोधेर उत्पादन इजाजत नै रद्द गरिदिएको पनि विभागले जनाएको छ । कम्पनीले गल्ती स्वीकार गरेपनि कोभिड १९ को कारण देखाउँदै विभागमा उपस्थित भएर अन्य कुनै कागजात र विवरण भने बुझाएको छैन ।

तर विभागले कमला रोलिङ मिल्स स्टिल्समाथि थप कारवाही हुन सक्ने भने प्रष्ट पारेको छ । विभागका अनुसार उक्त कम्पनीले उत्पादन गर्ने एफइ ५०० टिएमटी बार १० एमएम, १६ एमएम, २० एमएम र २५ एमएमका डण्डी तोकिएको गुणस्तर पालना नगरी उत्पादन गरेर बजारमा पठाएको भेटिएको हो ।

डण्डीमा सल्फरको मात्रा ०.०५५ प्रतिशत हुनपर्नेमा ०.०६० प्रतिशत, फोस्फरसको मात्रा ०।०५५ प्रतिशत हुनेपर्नेमा ०।०५९ प्रतिशत पाईएको ल्याब परीक्षणबाट पुष्टि भएको थियो ।

विभागले डण्डी गुणस्तरहीन भएको प्रमाणित भएपछि डण्डी फिर्ता लिन र विक्रि वितरण नगर्न पनि कम्पनीलाई निर्देशन दिएको छ । तर, कम्पनीले परीक्षण अघि बजारमा कति सामग्री पठाएको थियो र कति फिर्ता लियो भन्ने बारेमा भने कुनै जानकारी दिएको छैन ।

LIVE TV