२१ आश्विन २०७७, बुधबार

गोरखा, २१ असोज । जनता समाजबादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश निरंकुशतावादीको बन्धक बनेको बताउनुभएको छ ।

बुधबार गृह जिल्ला पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले पत्रकारसँग कुराकानी गर्दै ओलीको नेतृत्वमा देश निरंकुशतावादीको बन्धक बनेको बताउनुभएको हो ।

उहाँले अहिले पनि पनि लोकतन्त्र सुरक्षित नभएको र देश निरंकुशतावादीको बन्धक बनेको दाबी गर्नुभएको छ । विपक्षीहरुले लगाएका आरोप मात्र नभई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी चलेको बहसले पनि उक्त कुरा पुष्टि गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै, प्रधानमन्त्री ओलीले देशलाई ज्ञानेन्द्र शाहको कदमतिर लैजाने, संसद विघटन गर्ने, आपतकाल घोषणा गर्र्नेलगायत कदम चालेका कारण अन्तरविरोधलाई टालटुल पार्ने काम भएको सूचना आफूले पाएको पनि उहाँले बताउनुभएको छ ।

यसैबीच उहाँले लकडाउनले अर्थतन्त्र चौपट भएको बताउँदै समस्या समाधानका लागि सरकारले ठोस नीति योजना ल्याउन नसकेको आरोप पनि लगाउनुभयो । त्यस्तै, उहाँले आफू अर्थमन्त्री हुदाँ ट्र्याक खोलिएका सडकहरु हालसम्म पनि कालोपत्रे हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

LIVE TV