बजारमा पाइने अखाद्य पद्धार्थले कलेजोमा गएर असाध्यै नराम्रो असर गर्छ : जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती
२१ आश्विन २०७७, बुधबार
काठमाडौं, २१ असोज । जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीले मावन शरीर नै ‘धर्म, सर्वधन, प्रधानम’ भएको बताउनुभएको छ । न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’मा बोल्दै उहाँले मानव शरीर नै सबै भन्दा महत्वपूर्ण धन भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘यो धनलाई (मानव शरीर)लाई कसरी राम्रोसँग टिकाएर राख्ने, यो धनलाई नविग्रियोस् भनेर महत्वपूर्ण कुरा चाँहि खानपान हो । खानामा भर पर्छ, अन्नमा भर पर्छ, जीवनशैलीमा भर पर्छ । अहिले कोरोनाको बेलामा सबै भन्दा बढी मान्छेहरुलाई चासो भएको विषय चाँहि स्वास्थ्य हो ।’
त्यस्तै, उहाँले बजारमा अखाद्य वस्तु फेला पर्नु अहिलेको मात्र मुद्दा नभई २० औं २५ औं वर्ष पहिलेदेखि नै आफूहरुले आवाज उठाउँदै आएको बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘हामीले खाने खानेकुराहरु, बजारका खानेकुराहरुमा ढुसी परेका खानेकुराहरु, म्याद नाघेका खानेकुराहरु हुन्छन् भनेर भनिरहेका छौं । अहिले बल्ल आएर उजागर भयो, मलाई खुसी लागेको छ । अब चाँहि हामी अलि सचेत हुन्छौं कि !’
ढुसी परेको अखाद्य पद्धार्थले सानो बालबालिकाको मात्रै नभई जवान मानिसहरुको कलेजोमा गएर असाध्यै नराम्रो असर गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘घरमा हामीले ढुसी लागेको खानेकुराहरु, ढुसी लागेको अचारहरु तुरुन्तै फाल्छौं, प्रयोग गर्दैनौं । तर, बजारमा पाइने चाउचाउ, बदामलगायतका रेडीमेड खानाहरुमा त्यस्तो हुदैन ।’
उहाँले थप्नुभयो, ‘जब तपाईहरुले थाहा नभएको बजारका खानेकुराहरु, प्याकेटका खानेकुराहरु बच्चाहरुलाई दिदै हुनुहुन्छ भने तपाईहरुले विचार गर्नुस् कि तपाईहरुले बच्चाको शरीर अस्वस्थ रहोस् भनेर दिदैहुनुहुन्छ भन्ने गरेकी छु । सुन्दाखेरी एकदमै अप्रिय लाग्छ ।’
थप कुराकानी भिडियोमा हेर्नुहोस् :