चाडबाडको समयमा मात्र हुने मौसमी अनुगमन ‘अर्थ न बर्थको’ (भिडियो)



प्रकाशित मिति : Oct 06, 2020

काठमाडौं, २० असोज । चाडबाड लक्षित गरेर अनुगमन गर्ने सरकारी शैली पुरानो हो । देखावटी यो नाटक अति हुँदा पनि रोकिने संकेत भने छैन ।

यस्ता अनुगमनबाट न उपभोक्ताले राहत पाएका छन् नत कालोबजारी गर्नेहरुमाथि कारवाही नै । तर, फेरि यसपटक चाडवाड लक्षित अनुगमन काठमाडौं उपत्यकासहित देशभर सुरु भएको छ ।

काठमाडौं उपत्यका बिभिन्न भागमा म्याद गुज्रेको खाद्य पदार्थ करोडौंको हिसाबमा धमाधम फेला परिरहेको छ । गत विहीबारदेखि फेला पार्न थालिएको यस्ता खाद्य सामग्रीले उपभोक्ताले राहतको महसुस गरेका छन् ।

तर, यसमा सरकारी अनुगमन टोलीको कँही कतै देखिदैन । अनुगमन टोली यस्ता खाद्य वस्तुमा ध्यान दिन छाडेर साना पसलहरुमा छापा मार्न व्यस्त छ । कुनै राहत नपाएको यस्तो अनुगमन नाटक भन्दा बढी केही नभएको उपभोक्ताहरुले बताउदै आएका छन् ।

दशैं, तिहार र छठ जस्ता ठूला पर्व सुरु हुन अघि देशभर एकसाथ अनुगमन सुरु गर्ने परम्परा नौलो होइन । तर, यस्ता अनुगमनबाट ठूलो व्यापारीले उन्मुक्ति पाउने साना व्यापारीले मात्र दुःख भोग्नु पर्ने नियति नै बनेको छ ।

उपभोक्ता अधिकारकर्मीहरु पनि सरकारी अनुगमनको यो शैलीबाट आजित भइसकेका छन् । कुनै प्रभाव उपभोक्तामा नपर्नु र कालोबजारी गर्ने व्यापारीहरुलाई नसिहत मात्र दिएर छाड्ने चलनले सरकारी कर्मचारीको नियत छर्लङ्ग बन्दै आएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ ।

चाडबाड सुरु हुन लाग्दा हुने यो मौसमी अनुगमन प्रभावकारी नहुँदा सरकारी निकाय र कर्मचारीहरुले शैली परिवर्तन गर्न आवश्यक भइसकेको छ ।

राज्यको उपस्थितिको बोध गराउने गरी हुने अनुगमनले मात्र अर्थ राख्ने आवाज उठिरहेको समयमा अनुगमनको नाममा हुने सरकारी कर्मचारीको अर्थपूर्ण अनुगमनको भने अब अन्त्य हुनैपर्छ ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com