२० आश्विन २०७७, मंगलवार
  • दिलिप कुमार सहनी,

सिरहा, २० असोज । मिर्चैया नगरपालिका–६ मा भएको ३६ वर्षीया रीनादेवी पूर्वेको हत्या प्रकरण पेचिलो बन्दै गएको छ । गत भदौ २१ गते राति कल्याणपुर नगरपालिका–१२ बेल्हा घर भई मिर्चैया नगरपालिका–६ बस्दै आएकी रीनादेवी पूर्वेको हत्या भएको थियो ।

रीनादेवीको आफ्नै सुत्ने कोठामा हत्या भएको थियो, जहाँ उनको शव घोप्टिएको अवस्थामा तौलियाले छोपिएको थियो । रीनादेवीकी आफन्त श्रीनारायण साहले भने, ‘अर्ध नग्न थियो । लगाएको सुरुवाल र अन्य लुगा कोठामै फालिएको थियो ।’

बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुनसक्ने उनको दाबी छ । उनका अनुसार रीना बसेकी भवनमा अगाडि र पछाडी दुई वटै द्वारमा बाहिरबाट ताल्चा लगाइएको थियो । प्रहरीको रोहबरमा ताला फुटाएर रीनाको शव पोष्टमार्टमका लागि धरान लगिएको उनले बताए ।

रीना बसेकी भवनमा ५ वटा कोठा छन् । आफन्त श्रीनारायणले भने, ‘कोठा भाडामा लिएर लिई बस्नेहरु आ–आफ्नो घर गएका थिए । रीनाकी दुई छोरी र एक तीन वर्षीय छोरा पनि मामाघर सागरपुर गएका थिए । त्यसैले त्यो दिन घरमा एक्कलै थिइन् रीना ।’

छिमेकीबाट जानकारी पाएपछि आफूले प्रहरीलाई खबर गरेको उनले बताए । ‘गत भदौ २१ ग्ते करिब साढे आठ बजे रीनासँग कुरा भयो । त्यसको केही मिनेटपछि फोन लाग्न छाड्यो’, बैदेशिक रोजगारमा गएका उनकी श्रीमान प्रमोद कुमार पूर्वेले भने ।

उक्त घटनामा संलग्न रहेको आरोपमा रीनाकै माइती गाउँ सिरहा नगरपालिका–२२ सागरपुरका ३२ वर्षीय तौकिर आलमविरुद्द प्रहरीले घटना भएको करिब डेढमहिना पछि किटानी जाहेरी दर्ता गरेको श्रोतको भनाइ छ ।

यता तौकिरका दाजु मोहम्मद तमन्ना नदाफले भने फोनमा बोलेकै आधारमा भाईलाई पक्राउ गरिएको गुनासो गरेका छन् । उनले भने, ‘गाउँले भएको नाताले वर्षौंदेखि रीना मात्र नभई उनको घरका अन्य सदस्यले पनि तौकिरसमक्ष आफ्ना कुरा राख्दै आएका थिए ।’

उनले थपे, ‘फोनमा कुरा गरेको भन्दैमा हत्या गरेको हो भन्नु उचित हुदैन । तौकिरले हत्या गरेको हो भन्ने त्यसको कुनै ठोस प्रमाण छैन ।’

यता मृतक रीनाको पारिवारिक श्रोतले भन्यो, ‘मेरो घर नजिक रहेको एक फार्ममा काम गर्ने एक जना फरार छन् । उनको खोजी गर्दा सम्पर्कमा आउन सकेका छैनन् ।’

उनले थपे, ‘पारिवारिक सदस्य तथा अन्य आफन्तको सहयोगमा रीनाले बैदेशिक रोजगारबाट आएको पैसा व्यवस्थापन गर्दै घर जग्गा किन्ने र पारिवार चलाउदै आएकी थिइन् । पटक–पटक गरी उनको पति प्रमोद पूर्वेले २५ वर्ष बैदेशिक रोजगारमा काम गरे ।’ केही वर्ष अगाडि मिर्चैया बजारमा घडेरी किन्दा समान्य विवाद समेत भएको श्रोतको दाबी छ ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पजियारले यस घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । उनले भने, ‘अनुसन्धानमा असर पर्ने हुँदा तत्कालै धेरै कुरा बाहिर ल्याउन मिल्दैन ।’

रीनाकी माइती गाउँ सिरहा नगरपालिका–२२ सागरपुरका ३२ वर्षीय तौकिर आलमलाई अनुसन्धानका लागि प्रहरीले गत भदौ २४ गते नै नियन्त्रणमा लिइसकेको छ ।

LIVE TV