२० आश्विन २०७७, मंगलवार

काठमाडौं, २० असोज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठगीमा संलग्न अपराधमा नियन्त्रणमा परेकाहरुलाई आफै मुद्दा चलाउनका लागि जिल्ला प्रशासन र प्रहरीलाई आग्रह गरेको छ ।

उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारवाही गर्ने अधिकार प्रहरी र प्रशासनलाई पनि प्रत्यायोजन गरेको विभागले जनाएको हो ।

विभागले प्रहरी वा जिल्ला प्रशासनले नियन्त्रणमा लिएका अपराधमा संलग्नलाई पहिले आफूले सक्ने कानून प्रयोग गर्न आग्रह गरिएको जनाएको छ । विभागको पत्रमा प्रहरीले उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारवाही गर्न नचाहे विभागमा बुझाउन पनि उल्लेख गरिएको छ ।

विभागका अनुसार कीर्ते, कालोबजारी तथा ठगीलगायतका अपराधमा जिल्ला प्रशासन र प्रहरीले सीधै मुद्दा चलाउने र अपराधमा संलग्नलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत पनि कारवाही गर्न विभागमा बुझाउन सक्नेछ ।

अपराधमा संलग्नलाई हदैसम्मको कारवाही गर्न विभागले यस्तो कदम चालेको बताइएको छ । विभागले सबै निकायलाई परिपत्र गरिसकेको जनाउदै उक्त निकायले आफ्नो कानूनी क्षेत्राधिकारभित्र रहेर कारवाही थाल्ने जनाएको छ ।

यही असोज १५ गते कलंकी र बाफलमा प्रहरीले हानेको छापामा नियन्त्रणमा परेकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले मुद्दा नचलाई विभागमा बुझाएको थियो । सोही कारण यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।

LIVE TV