महिला हिंसा र ‘म्याडोना’



प्रकाशित मिति : Oct 06, 2020
  • सुदीप राई

काठमाडाैं, २० असाेज । चार वर्ष अघि, म काठमाडौंको एक स्कुलमा पढाउँथे । एकदिन स्कुलमा एकजना गुरुआमाले नौं कक्षामा अध्ययनरत एक छात्रा विद्यार्थीलाई हातमा समातेर तान्दै स्टाफ रुमभित्र ल्याइन् । आक्रोसित गुरुमाले ती छात्रालाई निकै कराइन् । लाजले रातो अनुहार लगाएकी छात्रा घोप्टो परेर ‘आइ एम् सरी म्याम’ भनिरहिन् । पछि छुट्टिने बेलामा थाहा भो– छात्रा विद्यार्थीले आफ्नो साथीलाई गम्लंग अङ्गालो हालेर ‘किस’ गर्दै बाई भनेकी रहिछिन् ।

त्यहीँ दृश्य देखेर गुरुमाले छात्रालाई स्टाफ रुमभित्र बोलाएर हप्की दप्की गरेकी रहेछिन् ।विद्यालय परिसरभित्रको कक्षाकोठामा अङ्गालो र किस गर्न अमर्यादित र विद्यार्थीलाई नसुहाउने तर्क थियो ती गुरुमाको । गुरुमाले ती छात्रालाई त्यसरी सम्झाउनु वा कराउनु स्वभाविकै थियो जबकि उनी विद्यायलयमा पालन गर्नुपर्ने नियमविपरीत थिईन् । तर, अचम्मको कुरा  के भइदियो भने गुरुमा उक्त छात्रालाई हरेक पल्टको गालीमा– ‘छोरी मान्छे भएर…’ भन्ने वाक्य दोहोर्याइरहेकी थिइन् ।

नेपाली समाजको नागरिक भएकोले त्यो घटनाले मलाई त्यति नै बेला त खासै छोएन । तर, जब आज म विश्वविद्यालयको एक विद्यार्थी भएर ‘फेमिनिस्ट लिटरेचर’ को टेक्स्टहरुमा घोत्लिरहँदा खुब सकसक अनि नमिठो लाग्छ । देब्रे र दाहिने दुवै दिमागलाई सोध्छु– जाबो अङ्गालो हालेर म्वाँइ खाँदै बाई भनेकोमा गाली र बेइज्जति भोगेकी ती इनोसेन्स छात्रा, केवल केटी हुनुले अमर्यादित ठहरिइन् । ती केटीको स्थानमा केटा (छात्र) भइदिएको भए ती गुरुमाले देखाउने स्वभाव कस्तो  हुन्थ्यो होला ? के यस्ता घटनाले नेपाली समाजको परिवेशमा महिलामाथि हुने हिंसा र अपराध हाम्रो साझा समस्या बनेको छैन र ?

मैले यो घटना किन पनि भनिरहेको छु भने, ‘छोरी’ भएर जन्म लिनु अभिशाप नै हो ? के नेपाली समाजमा छोरा मात्रै जन्माउनुपर्ने हो र, त्यसो हो भने भोलिको देशको कर्णाधार भनेर सिकाउने विद्यालयकी गुरुमाबाटै ‘छोरी भएर..’ किन सिकाइन्छ ? ती गुरुमाले आफ्ना सन्तानलाई के पाठ सिकाउँदी हुन् ! उनी कुन अवस्थामा घरमा बस्दि हुन्, सायद उनको श्रीमान अनि परिवारले पनि ‘छोरी मान्छे भएर..’ भन्ने पाठ नै दिनरात रटाउँदो हो । यो माथिको घट्नाले त्यहिँ चित्रण गर्छ, छोरी भएर हुर्किनु र त्यसपछि समाजमा सामना गर्नुपर्ने चुनौती कति रहेछ ।

स्त्री भएकै कारण अरुबाट भिन्न ब्यवहार, उपेक्षा र हेय प्रतिक्रिया वास्तवमा नै निन्दनिय हो । भौतिक रुपमा एक पुरुष हुनाको नाताले मैले बनाएको
संसार प्रतिको धारणा मेरी बहिनीले देखेको वा बुझेको संसारभन्दा पक्कै पनि बेग्लै हुन्छ होला । म कहिलेकाहीँ बहिनीलाई भन्ने गर्छु, ‘बाटोमा वा कतै तिमीलाई कसैले दुर्व्यवहार गर्यो भने त्यसको बाबजुद पछि हट्ने होइन, जमेर थप्पड हान्नु ।’ बहिनीले निर्धक्क ‘हुन्छ’ त भन्छ तर मलाई थाहा छ– ऊ झगडा त के अझैँ मैले देख्ने गरी आफ्नो ‘अन्डरवेर’सम्म खुल्ला ठाउँमा सुकाउँदैन वा मैले देख्ने ठाँउमा आफ्नो स्यानिटरी प्याड राख्न समेत हिच्कीच्याउँछ ।

मैले बल्ल यो बुझिरहेको छु, त्यो त मैले मेरी बहिनीमाथि मैले गरिरहेको एक प्रकारको हिंसा नै रहेछ । अझ भनौँ, मनोबैज्ञानिक दमन वा हिंसा । मैले बहिनीलाई त्यसरी हौसला दिँदा उसलाई असहजपन भएको रहेछ, जानी नजानि । थाहै नपाई उसलाई मैले अपमान र बेवास्ता पो गरिरहेको रहेछु । जबकि बाटोमा वा कतै तँमाथि जाइलाग्नेलाई तह लगाउनु त्यहिँ भनिरहँदा मैले उसलाई कहिल्यै पनि दुईवटा स्यानिटरी प्याड किनेर दिने चेष्टा गरिने ।जुन दाहित्व मैले निर्वाह गर्नुपर्थ्याे ।

बन्दुकको उत्तर फूलले होइन बन्दुकले नै दिनुपर्छ भनेझैँ भौतिक आक्रणमाथि जाइ लाग्नेलाई त्यहिँ उत्तर फर्काउनुपर्छ भन्ने मैले यो दायित्व कहिल्यै निर्वाह गरिने । मैले बहिनीलाई भौतिक आक्रमणको जवाफभन्दा यतातिर सहजपन बनाईदिएर दाई हुनाको दायित्व र जिम्मेवारी पूरा गरिदिनुपर्थ्याे । तर, म जस्ता लाखौँ दाजुहरुले आफ्ना बहिनीहरुलाई पुरुष हैकमवादी सोँच थोपर्दछ र, महिला हिंसाले जन्म लिइदिन्छ, थाहै नपाइ ।

कयौपटक मैले सुनेको र देखेको छु, मेरो हाइस्कुलको सामाजिक शिक्षकले ‘छोरी मान्छेको घाँटीमा रुद्रघन्टी हुँदैन, त्यसकारण पनि कुनै कुरा मनमा राख्न सक्दैनन् अनि ओकलिहाल्छन्,’ भन्नुभएको । यो प्रसंगबाट पनि प्रष्टिन्छ किन हामिले सामाजिक रुपमा आफ्नै छोरी, चेली, बहिनीहरुलाई कसरी हेरिरहेको रहेछौँ भन्ने ।

मैले महिला हिंसासम्बन्धि केही घटनाहरु देखे तर, मैले निन्दा र विरोध गर्न सकिनँ । सार्वजनिक साधनमा यात्रा गर्दा नजानिदो पाराले नजिकै बस्ने राम्री केटीको शरिर सुम्सुमाएको किस्सा सुनाउने मेरो साथीभाइलाई सर्तक कहिले गराइन् । क्याम्पसमा आफ्नो छात्रा सहपाठीको स्तनको फोटो खिच्न खोज्ने मेरा साथीहरुलाई सम्झाउन मैले जरुरी ठानिनँ । सामूहिक फोटो खिच्दा आफ्नो छात्रा सहपाठीको हिपमा हात राख्ने साथीको ध्यानलाई भंग गर्न सकिन । चुप लागेर बसिदिएँ । हुुन त ‘पोथी बास्यो भने धुरी कटाउनु पर्छ’ भन्ने कठोर संस्कारबाट हुर्किएर आएको मेरो बबुरा मस्तिष्कले यसविरुद्ध उत्रने आँट पनि गरोस् कसरी ?

यी सबै नहिच्किच्याइ किन भनिरहेको छु भने महिलामाथि हुने कुनै पनि प्रकारको हिंसामा सरिक नभए पनि म ती तमाम् गतिविधिहरु हेरेर बस्छु भने त्यो आफैँ हिंसामा संलग्न भए जति भएन र ? सोध्छु आफैँल आफैँलाई, ‘मजस्ता केटाहरु जो हिंसामै नउत्रिएर यसरी नै मौन बसी हिंसामा थप बल दिइरहेछन् ।’

महिला हिंसाका समाचारले पत्रिकाको फ्रन्ट भरिएको देख्छु । र, मैले पढ्ने विश्वविद्यालयको अंग्रेजी पाठ्यक्रमको ‘वुमन स्टडी’ का टेक्स्टहरु झलझली आँखामा नाच्न थाल्छन् । त्यो टेक्सटमा पुरुषसरह नै सशक्ति ढंगमा उत्राइने महिला मैले बाँचिरहेको समाजमा फरक प्रकृतीको पाउँछु । जबकि कक्षाकोठाभित्र ‘महिला पुरुषभन्दा के मा कमी छे’ भनेर मलाई अकमक्क बनाउने सहपाठी केटी साथी बाहिर आएपछि झोक्रिएको देख्छु । खै किन होला ?

समाज र मैले पढ्नुपर्ने ‘टेक्स्ट’ बीचको भिन्नताहरु केलाउँछु । धमिलो पानीमा माछा देखेझैँ यिनीहरुबीचको केही भिन्नता छुट्याउन थालेको छु । विस्तारै आफैँ प्रति आलोचनात्मक हुन खोजिरहेको छु । यद्यपि, महिला हिंसामा म आफैँ गलत छु भनेर भन्न सक्ने भएको छु । र, विश्वविद्यालयको विद्यार्थी भएर के गर्नु सामाजिक हिंसालाई बुझ्ने ल्याकत मसँग कहाँ रहेछ ।

चिया गफमा मेरा सहपाठीहरु भन्ने गर्छन्– सतीपर्था र दास प्रथा भोगेर आएको हाम्रो समाज आजको उन्मुक्त पुस्तासम्म आइपुग्नु निकै ठूलो उपलब्धी हो । तर, मलाई त्यस्तो लाग्दैन । के नेपाली समाजको सन्दर्भमा महिला उन्मुक्त छ भनेर दाबी गर्ने हामी उहीँ एकलकाँटे र बन्द समाजको समर्थक छैनौँ र ? हिजोका दिनहरुमा महिलाहरुले छोरा  नजन्माउदा घरबाट खेदिनुपर्थ्याे । यतिसम्म गरिन्थ्यो कि दीर्घ रोगी वा धेरै बोलेमा समेत पुरुषले पारपाचुुके गर्न मान्यता थियो ।

होला आज त्यो दृश्यमा केही फेरबदल भएको छ तर, महिला पुरुषको केवल एउटा हिस्सा हो भनेर सोच्ने र चिन्तन गर्ने विचार बद्लिएको छैन ।
साथीहरुले यो पनि भन्छन्– महिलामाथि मात्र हिंसा हुने देख्नेले पुरुष माथि हुने हिंसाचाहिँ के हो त उसोभए ? महिलाबाट महिलामाथि हुने हिंसाचाहिँ छैनन् र ? साथीहरुले यस्ता तमाम प्रश्न गर्छन् । यसबारे कुनै दिन गजबले लेख्ने नै छु । तर, महिला हिंसा नेपाली समाजको संरचनामा भएको संस्थागत हिंसा हो । र, समानताको खोजीमा महिला अधिकार भन्ने आवाज पुरुषमाथि घृणा थुर्पानु होइन । यो त सम्मान, सभ्य र सुन्दर बनाउने यात्राको आरम्भ हो ।

आफ्ना कुराहरु बिट मार्नुअघि फेरी नौ कक्षामा पढ्ने ती छात्राकै प्रसंग उप्काउन चाहन्छु । गुरुमाबाट त्यसरी हप्कीदप्की खाएकी छात्रा अहिले आजकाल मोडलिङ गर्दिरहिछिन्, सोच्छु–उनलाई आजकल त्यो पूरानो घटनाको याद आउँछ कि आउँदैन होला ? एकदिन भेटेर सोध्न
मन छ ।

अन्तमा म्याडोनाको भाषामा, ‘म प्रतिस्पर्धी र महत्वकांक्षी छु र मलाई ठ्याक्कै थाहा छ, म जीवनमा के चाहन्छु । यदि यसो हुँदा मलाई कसैले ‘बाइफाली आइमाई’ देख्छन् भने, त्यो उनीहरुको समस्या हो । म यसमा आफ्नो समय बर्बाद गर्दिन ।’ त्यसैले त मलाई म्याडोना निकै मन पर्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com