१९ आश्विन २०७७, सोमबार
  • इरफान अलि

वीरगञ्ज, १९ असोज । भारतमा आसन्न विधान सभा चुनावलाई लक्षित गरेर नेपाल–भारत सीमा सुरक्षा बैठक सोमवार बाराको कलैयामा सम्पन्न भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई र भारतको बिहार प्रदेश पुर्वी चम्पारण जिल्लाका डीएम श्रीरसत कपिल अशोकको अगुवाइमा नेपाल र भारतका सुरक्षा तथा प्रशासनिक निकायका अधिकारीबीच बैठक भएको हो ।

बैठकमा आगामी नोभेम्बर महिनामा हुने विधान सभा चुनावलाई केन्द्रित गरेर सीमामा सुरक्षा व्यवस्थाका विषयमा कुराकानी गरिएको छ ।

‘सीमामा हुन सक्ने आपराधिक क्रियाकलापलाई रोकथाम गर्न, नक्कली रुपैयाँको हुन सक्ने ओसारपसार, मानव बेचबिखनजस्ता क्रियाकलापलाई निस्तेज गर्न हामी दुवै पक्ष सहमत भएका छौं,’ पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमागंले बताए ‘सीमा क्षेत्रमा हुन सक्ने अवैध मदिराको कारोबार, अवैध लागूऔषधको कारोबारलाई पूर्णरुपमा निस्तेज गर्ने गरी सीमामा सुरक्षा व्यवस्था कडाई गर्ने सहमति गरिएको छ ।’

विधान सभा चुनावमा रहेको खुला सीमा बन्द गर्ने सँगसँगै त्यसअघि हुने आपराधिक क्रियाकलाप र नक्कली नोटको कारोबार समेत रोक्नेतर्फ दुवैतिर सावधानी अपनाउन बैठक गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्राले बताए ।

भारतबाट अवैध रुपमा साना हतियार तथा लागूऔषध आयात हुने गरेकाले नेपालको सीमावर्ति क्षेत्र असुरक्षित भइरहेको प्रश्नमा डीएम कुन्दान कुमारले भने, ‘नेपाल सरकारले किटान गरेर समस्या बताए त्यसको समाधान गर्न भारत सरकार तयार छ ।’

भारतको सीमा सुरक्षा बल ९एसएसबी० ले नेपालीसँग दुव्र्यवहार गर्ने गरेको जिज्ञासामा उनले भने, ‘यदि हाम्रो एसएसबीबाट नेपालका सीमावर्ति नागरिकलाई कुनै पनि किसिमको अमानवीय व्यवहार भइरहेको छ भने त्यस्तो अबदेखि नगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कार्यक्रममा भारतीय सुरक्षा तथा प्रशासनिक अधिकारी लगायत बारा , पर्सा , रौतहट ,चितवन ,नवलपरासी पुर्व नवलपरासी पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

LIVE TV