१९ आश्विन २०७७, सोमबार

काठमाडौँ, १९ असोज । कोरोना भाइरसको संक्रमण भएपछि शुक्रबारदेखि अस्पतालमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक कारमा देखिएका छन् ।

वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका छन् । उनको यो कार्य विवादित बनेको छ ।

संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका हुन् । गाडीमा रहेका उनले मास्क मात्रै लगाएका थिए ।

गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट संक्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नरहेको भनी उनको गतिविधिको आलोचना समेत भएको छ ।

ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ ।

ट्रम्पलाई कम्तीमा एकपटक अक्सिजनको सपोर्ट दिइएको छ । डा. शन कोन्लीले अक्सिजन लेभल दुईपटक कम भएको बताएका छन् ।

LIVE TV