१८ आश्विन २०७७, आईतवार
  • जनक बहादुर शाही,

हुम्ला, १८ असोज । हुम्लामा चीनले अतिक्रमण गरेर भौतिक संरचना बनाएको भनिएको ठाउँ नेपालकै भएको स्थानीय जनप्रतिनिधि र स्थानीयबासीले पुनः दाबी गरेका छन् ।

केही वर्ष अगाडिसम्म गोठ राखेको ललोङ्ग जोङ्ग पाटनमा आएर चीनले भौतिक संरचना निर्माण गरेको जनाउँदै जनप्रतिनिधि र स्थानीयले उक्त क्षेत्र नेपालकै भएको दाबी गरेका हुन् ।

चीनले भवन बनाएको ठाउँसहित सीमास्तम्भको निरीक्षण गर्न गएको पूर्वमन्त्री तथा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जीवन बहादुर शाही नेतृत्वको टोलीसँग स्थानीय जनप्रतिनिधि र स्थानीयहरुले उक्त भूमी नेपालकै भएको दाबी गरेका हुन् ।

सीमास्तम्भ र चीनले भवन बनाएको क्षेत्रको निरीक्षण गरी नाम्खा गाउँपालिका वडा नम्बर ६ को जाङ गाउँ आएपछि न्यूज २४ सँग कुरा गर्दै नेता शाहीले १२ नम्बर सीमास्तम्भ पुनर्निर्माण गरिएकाले शंकास्पद रहेको बताए ।

उनले भने, ‘यसको बारेमा भूमिसुधार मन्त्रालय र परराष्ट्र मन्त्रालयको औपचारिक धारणा माग्नुपर्ने हुन्छ ।’ १२ नम्बर सीमा स्तम्भ रहेको लाप्चा भञ्ज्याङमा नेता शाहीको टोली शुक्रबार पुगेको थियो ।

शाहीको टोली ५०३२ मिटरको उचाईमा रहेको १२ नम्बर सीमा स्तम्भको निरीक्षणसमेत गरेर फर्किएको छ । उक्त निरीक्षण टोलीले उक्त स्तम्भ पनि हालसालै बनाएको पाइएको जनाएको छ । चिनियाँहरुले सो पुरानो स्तम्भलाई हटाएर नयाँ स्तम्भ बनाएकाले सीमास्तम्भ शंकास्पद भएको शाहीले बताए ।

तर, सो स्तम्भ पुनर्निर्माण गर्ने बेला न लिमिका स्थानीयले थाहा पाए, नत कोही सरकारी अधिकारीहरु नै आए । जसको कारण लिमिको लाप्चामा रहेको १२ न पिल्लरलाई चिनिया पक्षले एक पक्षीय रुपमा मनपरी मर्मत गर्दा पिल्लरको डाइरेक्सन परिवर्तन गरेको नाम्खा ६ हल्जी गाउँका ५२ वर्षीय फुन्जु तामाङले बताए ।

उनले १० बर्षको उमेरदेखि आफू सो भवन बनाइएको क्षेत्रमा जाने आउने गरेको स्मरण गर्दै भन्छन्, ‘हामीहरुले पहिले त्यहाँको पाटनमा गोठ राख्थ्यौं । अहिले उनीहरुले घर बनाएर व्यारेक पो बनाए ।’

१२ नम्बर स्तम्भ निरीक्षण गरेर फर्किएको टोली ११ नम्बर स्तम्भको पनि निरीक्षणमा जाने क्रममा रहेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता जीवन बहादुर शाहीको नेतृत्वमा ४५ जनाको टोली १२ नम्बर सीमा स्तम्भसम्म गएपनि त्यसमध्येका आधाभन्दा बढी चाहि सदरमुकाम र अन्य आफ्नो स्थानमा फर्किएका छन् ।

१९ जनाको टोली ११ सीमा स्तम्भसम्मै पुग्ने बताइएको छ । उक्त टोलीमा नेता शाहीसँगै पूर्व सांसद रीता शाही, नेपाली कांग्रेस जिल्ला सभापति जयपती रोकाया, स्थानीय निकायका जनप्रतिनिधि, पत्रकारहरु पनि सहभागी छन् ।

सिमिकोटका अध्यक्ष पदम बहादुर लामा र खार्पुनाथका अध्यक्ष कर्ण बहादुर रावल १२ नम्बर स्तम्भ अनुगमन गरेर फर्किएका छन् । नाम्खाका उपाध्यक्ष पेमा तामाङले भवनहरु नेपाली भूमिमै बनेको पाइएको बताइन् ।

भवनहरु नेपाली भूमिमा रहेपनि सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरु भने चिन्तितसँगै आक्रोशित भएका पनि उनले बताइन् ।

LIVE TV