
काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अनसनरत डा.गोविन्द केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील गर्नुभएको छ ।
सभापति देउवाले आइतबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै अनसनरत डा.केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले कुनै गम्भीरता प्रस्तुत नगरेको भन्दै दुःख व्यक्त गनुभएको छ ।

त्यस्तै, उहाँले चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमलगायतका डा. केसीका मागहरु केवल एक ब्यक्तिका माग नभई प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू भएको बताउनुभएको छ ।
जरी विज्ञप्तीमा भनिएको छ, ‘जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । तर, सरकारले सुरूवातमा डा.केसीप्रति दूर्व्यवहारपूर्ण ब्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासीन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ ।’
त्यस्तै, उहाँले वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा २०७५ को साउनमा डा.केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको स्मरण गराउँदै पुनः संवाद मार्फत् समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई अपील गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘डा.केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाई नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु ।’