१७ आश्विन २०७७, शनिबार

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र गगन थापासहित ६ जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका अन्य कांग्रेस केन्द्रीय सदस्यहरुमा शम्भूलाल श्रेष्ठ, अनिता चौधरी, लगायत छन् ।

आगामी असोज १९ गते बस्न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको गत बिहीबार गरिएको परीक्षणबाट उहाँहरुको कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि न्यूज २४ संग कुरा गर्दै नेता अर्जुननरसिंह केसी पार्टीले स्वाब संकलन गरेपछि रिपोर्ट पहिला मिडियालाई दिने कि सम्बन्धितलाई भन्दै प्रश्न गर्नुभयो ।

उहाँले आफुलाई अहिलेसम्म पार्टीले तपाईलाई संक्रमण देखियो भन्ने जानकारी नदिएकोमा आफुलाई दुःख लागेको बताउँदै आफुमा कोरोनाको कुनै लक्षण नदेखिएको पनि प्रष्ट पार्नुभयो । आफू अब होम आइसोलेसनमा बस्ने जानकारी दिदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सुरक्षित रहन पनि आग्रह गर्नुभयो ।

उहाँले आफुले १५ दिन अघि पनि कोरोना टेष्ट गर्दा नेगेटिभ आएको तर यसपटक गत बिहीबार परीक्षण गर्दा पोजेटिभ देखिए पनि पार्टीको व्यवहार भने नेगेटिभ देखिएको भन्दै न्यूज २४ संग गुनासो पोख्नु भयो ।

यता युवा नेता गगन थापाले न्यूज २४ संग कुरा गर्दै आफुमा कोरोना संक्रमण पुष्टि भएको भन्दै अब होम आइसोलेसनमा बस्ने जानकारी दिनुभयो । कांग्रेसले गत बिहीबार केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुका सुरक्षागार्डसहित २ सय ४१ जनाको स्वाब संकलन गरेको थियो ।

बिहीबार संकलन गरिएको स्वाबको शनिबार रिपोर्ट आउँदा उहाँहरुमा संक्रमण पाइएको हो । संक्रमित अन्य दुई जनाको विवरण खुलेको छैन । यद्धपि रिपोर्टमा एकजनाको नाम गंगा थापा लेखिएको पनि कांगे्रेस केन्द्रीय कार्यालय निकट श्रोतले न्यूज २४ लाई बतायो ।

 

 

 

 

LIVE TV