१७ आश्विन २०७७, शनिबार
  • बाल बिक्रम कार्की,

रौतहट, १७ असोज । मान्छेलाई जिउँदै जलाएको भनिएको ईंटा भट्टाका हेडमिस्त्री प्रहरी नियन्त्रणमा परेका छन् ।

प्रहरीले बम बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै ईंटा भट्टामा जलाएको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफ्ताब आलम प्रकरणमा फरार रहेका ईंटा भट्टाका हेडमिस्त्रीलाई गएराति नियन्त्रणमा लिएको हो ।

बाराको सिम्रौनगढ नगरपालिका–४ का ५५ बर्षीय बद्री सहनीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले रौतहटको बौद्धिमाई नगरपालिकाको बंकुल बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

पहिलो संविधानसभा चुनावमा धाँधली गर्ने उद्देश्यले आलमले तत्कालीन राजपुर फरहदवा गाविस वडा नम्बर ४ (हाल राजपुर नगरपालिका वडा नम्बर ४)मा रहेको एक गोठमा बम बनाउन लाग्दा अचानक बम विष्फोट हुँदा घाइते भएकाहरुलाई उपचार गर्नुको सट्टा जिउँदै ईंटाभट्टामा जलाएको आरोप आलममाथि लागेको छ ।

हाल उनी नख्खुस्थित केन्द्रीय कारागारमा पूर्पक्षका लागि थुनामा रहेका छन् ।

LIVE TV