१७ आश्विन २०७७, शनिबार

  • रचना काफ्ले

१)

गाउँमा जस्तो मन हुँदैन शहरमा
एउटालाई दुख्दा अर्को रुँदैन शहरमा
तिमी भन्छौ आमा, शिक्षित हुन्छ्न् त्यहाँ भनी
किताबी ज्ञानले छुँदैन शहरमा ।

२)

मानवता भन्ने कुरा अचेल हराएछ
एउटै माला हामी भन्ने कुरा अचेल हराएछ
जात, धर्मकै नाउँमा काटाकाट हुन्छ यहाँ
सबैको रगत रातो भन्ने कुरा अचेल हराएछ ।

३)

घडी उहीँ, समय उहीँ, दिन र रात मिल्दैन
चामल उहीँ, पकाइ उहीँ तर भात मिल्दैन
भाे जातभातकाे कुरै नगरूँ, अरु त अरु भैहाले
यहाँ त जैसी र उपाध्यायमा पनि जात मिल्दैन ।

४)

पढ्न छोडिदेउ अब जागिर पाइँदैन
सर्टिफिकेट नधाउ कतै जागिर पाइँदैन
बरु झुट बोल्न र भाषण लाउन सिक
ठाउँमा पावर र पैसाबिना जागिर पाइँदैन ।

५)

बाको पैताला र आमाको फाटेको चोली हेर्दा मन रुन्छ
लाहुरबाट रिनमा डुबी फर्किएको दाइको झोली हेर्दा मन रुन्छ
गरिब त सधैँ गरिबीमै मर्ने भए हजुर
जागिर किन्न नसकेको सर्टिफिकेट खोली हेर्दा मन रुन्छ ।
०००

चन्द्रपुर, रौतहट

LIVE TV