१६ आश्विन २०७७, शुक्रबार
  • बाल बिक्रम कार्की,

रौतहट, १६ असोज ।

“सम्राट भन्दा अघिअघि सारथी भइ दास पुग्छ,
टेक्ने ठाउँ पायो भने धूरीमाथि घाँस पुग्छ,
छुद्र ठानिएकाहरु रतिभर नि कमजोर हुन्नन्,
आगो बस्छ धरातालमा तर धुवाँ आकाश पुग्छ,”

वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेले यो मुक्तक वाचन गर्दा चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित जनज्योति बहुमुखी क्याम्पसको सभाहल तालीले गुन्जायमान भयो ।

रौतहटको चन्द्रपुरमा चन्द्रनिगाहपुर सिटी जेसिसले जेसिस सप्ताह–२०२० को अवसरमा आयोजनामा गरेको साहित्यिक कार्यक्रममा २० भन्दा बढी साहित्य पारखीहरुले आफ्नो रचना वाचन गरेर कोरोना कहरबीच पनि साहित्य माहोल जमाएका थिए ।

कार्यक्रममा सहभागिहरुको साहित्य रचना गीत, कविता, गजल तथा मुक्तकले एकैछिन भएपनि कोरोनाको कहर बिर्सिएर साहित्यिक माहोलमा रम्ने वातावरण सिर्जना गरेको थियो ।

प्रत्येक वर्ष मनाउँदै आएको जेसिस सप्ताह अन्र्तगत शुक्रबार चन्द्रपुरका साहित्य क्षेत्रमा लाग्दै आएका प्रतिभाहरुको सहभागितामा गजल तथा कविता वाचन कार्यक्रमको आयोजना गरिएको संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्यामहरी चौलागाइले बताए ।

कोरोना माहामारीका कारण कार्यक्रमा सीमित व्यक्तिहरुको मात्र सहभागी गराएको जनाउँदै उनले आगामी वर्षहरुमा क्रमशः यसलाई राष्ट्रव्यापि कार्यक्रमको रुपमा अगाडि बढाउने चन्द्रनिगाहपुर सिटी जेसिसको योजना रहेको जानकारी गराए ।

अध्यक्ष दीलिप सापकोटाले जेसिस सप्ताहको अवसरमा चन्द्रनिगाहपुर सिटी जेसिसले पनि विभिन्न सामाजिक कार्यहरु गरेको उल्लेख गर्दै यस वर्ष कोरोना कहरका कारण गत वर्ष जस्तो भव्य रुपमा कार्यक्रम गर्न नसकिएको बताए ।

उनले यस्ता खाले सहित्य कार्यक्रमले मानिसमा रहेको साहित्य प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने उल्लेख गर्दै साहित्यले समाजको यथार्थलाई चित्रण गर्ने हुँदा समाज परिवर्तनमा साहित्यको ठूलो भूमिका हुने जिकिर गरे ।

   

LIVE TV