१६ आश्विन २०७७, शुक्रबार
  • देवराज पन्त,

मकवानपुर, १६ असोज । हेटौंडाको बाल सुधार गृहमा बस्दै आएका एक बालकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभ-याङस्थित बाल सुधार गृहमा बस्दै आएका संखुवासभा खाँदबारी–११ घर भएका १८ वर्षीय “पुन्टे” भनिने ईन्द्रजीत राईको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्यान मार्ने उद्योगमा पक्राउ परेका ती किशोर डेढ वर्षदेखि सो सुधार गृहमा बस्दै आएका थिए । मृत्यु भएका बालकको शवलाई परिवारको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारीदिएका छन् ।

मृत्यु भएका उनमा केही दिनदेखि शरीर सुन्निने, खाना खान मन नलाग्ने, बान्ता गर्ने जस्ता लक्षणहरु देखिएको जनाईएको छ । उनीहरुमध्ये ७÷८ जना बालकहरुमा पनि सोही प्रकृतिको लक्षण देखिएको छ भने ४ जना बालकको अवस्था गम्भीर रहेको बाल सुधार गृहका रामप्रकाश सुवेदीले बताएका छन् ।

गम्भीर भएका बालकहरुलाई भक्तपुरको बाल सुधार गृहमा रिफर गर्ने तयारी भइरहेको बताइएको छ । केहीदिन अघि पनि सो बाल गृहमा बस्दै आएका एक बालकमा यस्तै प्रकृतिको लक्षण देखिएको र उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।

हेटौंडाको सो सुधार गृहमा हाल ३४ जना बालक बस्दै आएका छन् । विभिन्न अभियोग लागेका बालकहरुलाई सुधारका लागि अदालतले सो बाल गृहमा पठाउने गर्दछ ।

LIVE TV