१६ आश्विन २०७७, शुक्रबार

काठमाडौं, १६ असोज । नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको मुद्दाको सुनुवाई फेरि हेर्दाहेर्दैमा राखिएको छ ।

आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा गौतमविरुद्धको मुद्दामाथि भएको सुनुवाई बुधबार सुनुवाई हुने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

आजको सुनुवाईमा गौतमका तर्फबाट कानुन व्यवसायीेले बहस गरेका थिए । यसअघि गत बुधबार रिट निवेदकले बहस गरेका थिए । सोही दिन सरकारका तर्फबाट महान्यायाधीवक्तासहितले बहस गरेका थिए ।

सर्वोच्चले यो मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको थियो । उपाध्यक्ष गौतमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले उक्त मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यसमा सुनुवाई गर्दै सर्वोच्चले असोज ७ गते गौतमको मनोनयन यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो ।

सोही दिन प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलास गठन गरिएको थियो ।

LIVE TV