१६ आश्विन २०७७, शुक्रबार

काठमाडौँ, १६ असाेज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामाथि आज  सुनुवाइ हुने भएको छ ।

यसअघि बुधबार हेर्दाहेर्दैमा राखिएको उनी विरूद्धकाे रिटमा आज सुनुवाइ हुने बताइएकाे छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ हुँदाहुँदै समय अभाव भएकाे कारण देखाउँदै ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

गाैतमविरूद्ध सर्वाेच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । प्रतिनिधिसभाकाे चुनावमा पराजित भएका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय असंवैधानिक रहेकाे भन्दै सरकारकाे साे निर्णय बदर गर्न माग गर्दै त्रिपाठीले रिट दायर गरेका थिए । साे रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सरकारका नाममा अन्तरिम आदेश दिएकाे थियाे ।

साे एकल इजलासले रिटलाई संवैधानिक इजलासमा पठाएको थियो, जसमाथिकाे अन्तिम फैसला आज आउने अपेक्षा गरिएकाे छ । यद्यपि  गौतमले भने राष्ट्रियसभा सदस्यमा सरकारले नियुक्ति दिएलगत्तै पद तथा गाेपनीयताकाे सपथ भने लिइसकेका छन् ।

LIVE TV