१६ आश्विन २०७७, शुक्रबार

काठमाडौं, १६ असोज । जर्मन तथा युरोपियन च्याम्पियन वायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले युइएफए पुरुष प्लेयर अफ दि इयर २०१९-२० को अवार्ड जितेका छन् । उनले इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रायन र बायर्नकै गोलकिपर म्यानुअल नोयरलाई पछि पारेका हुन् ।

लेवान्डोस्कीले गएको सिजन बायर्न म्युनिकबाट ४७ खेलमा ५५ गोल गरेर युरोपको सर्वाधिक गोलकर्ता बनेका थिए । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा वायर्नले युरोपियन च्याम्पियन्स लिग, जर्मन बुन्डेस लिगा र जर्मन कपको उपाधि जितेको थियो।

च्याम्पियन्स लिगमा सर्वाधिक १५ गोल उनले नै गरेका  थिए । बायर्नकै गोलकिपर नोयर पनि वर्षको तीन उपाधिमा टिमका लागि महत्वपूर्ण थिए । यस्तै डि ब्रायनले गएको सिजन प्रिमियर लिगमा २० असिस्ट र १३ गोल गरेका थिए।

वायर्नकै हान्सी फ्लिकले प्रशिक्षकको अवार्ड हात पारेका छन् । वार्यनलाई छैटौं पटक युरोपियन च्याम्पियन बनाएका फ्लिकले अवार्ड जितेका हुन् ।

वर्ष उत्कृष्ट खेलाडी छान्न युरोपमा खेलिरहेका खेलाडीमध्ये एक सिजनभर गरेको खेल प्रदर्शनलाई आधार बनाइएको हुन्छ । जसमा राष्ट्रिय लिग, युरोपियन च्याम्पियन्स लिग र राष्ट्रिय टिमबाट खेलेको खेललाई समेत आधार बनाइन्छ ।

 

LIVE TV