१५ आश्विन २०७७, बिहीबार
  • रिया भण्डारी,

काठमाडौं, १५ असोज । कोरोनाको कहालीले यसपटकको बडादशैं, तिहार र छठ जस्ता महान पर्वको उत्साह अन्योलमा पर्दै गर्दा सरकारले यी चाडहरु मनाउने तयारी भने थालेको छ ।

काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरमा सरकारले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएपछि कोरोनाको कहालीबीच दशैं मनाउने आशा नेपाली जनतामा बढेको छ ।

कोरोनाको कारण बजार भाउ उथलपुथल छ । छोइनसक्नु गरेर महंगिएको उपभोग्य वस्तुको मूल्यले यसपटक दशैैं तिहार र छठ महंगो पर्ने अनुमान आम नेपालीले गर्दै आएका छन् । तर सरकारले सुपथ मूल्यको पसलहरु सञ्चालनमा ल्याएर चाडबाड मनाउन सकिने सन्देश पनि दिएको छ ।

पसल सञ्चालनको पहिलो दिन भएर पनि होला सुपथ मूल्यका पसलमा उपभोक्ताको उपस्थिति भने कम देखिएको थियो । उपभोक्ताहरुले छुट कम भएको र पसलमा राखिएको सामग्री कम भएको गुनासो गरेका छन् ।

कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखेर सरकारले अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी व्यवस्था गरेपछि उपभोक्ता थप खुसी देखिएका छन् । अनलाइन अर्डर र सामग्री ढुवानीका लागि सञ्चालनमा ल्याइएको सुपथ मूल्यका पसलहरुमा विशेष व्यवस्था नै गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुने यी पसलहरुबाट चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा पनि विशेष छुट उपलब्ध छ ।

यसैगरी च्याङग्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ भने उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुटको व्यवस्था गरिएको छ ।

कम्पनीले मुस्ताङबाट च्याङ्ग्रा र कञ्चनपुर, दाङ र बीरगञ्जबाट खसीबोका ल्याउने तयारी थालिसकेको छ । सुपथ मूल्यका पसलहरु काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत १६ स्थानमा सञ्चालनमा छन ।

तर काठमाडौं उपत्यकाको केही सिंहदरबार टेकुलगायतका स्थानमा भने पहिलो दिन पसल सञ्चालनमा आएका छैनन् । यस्तै उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरहरुका ६५ स्थानमा सुपथ पसल सञ्चालनमा आउने छन् ।

LIVE TV