१५ आश्विन २०७७, बिहीबार

एजेन्सी , १५ असोज । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई बिहीबार उत्तर प्रदेशको प्रहरीले हिरासतमा लिएको छ । उनीसँगै रहेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।उत्तर प्रदेशको हाथरसमा भएको एक सामुहिक बलात्कारको शिकार भएकी युवतीको परिवारलाई भेट्न हिँडेका उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो । प्रहरीले उनीहरुलाई निर्देशन अवज्ञा गरेको आरोपमा यमुना एक्सप्रेसवेबाट पक्राउ गरेको हो ।

राहुल र प्रियंका गान्धी दिल्लीबाट पीडितको परिवार भेट्न हाथरसतर्फ जानेक्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ । सेप्टेम्बर १४ मा भारतको हाथरस भन्ने स्थानमा १९ वर्षीया एक दलित परिवारकी किशोरीमाथि सामुहिक बलात्कार भएको थियो ।

बलात्कारपछि उनी खेतमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनीमाथि सामुहिक बलात्कार गरेको आरोपमा गाउँका तथाकथित उच्च जातका चार युवा पक्राउ परेका छन् ।

LIVE TV