१५ आश्विन २०७७, बिहीबार
  • बालबिक्रम कार्की

रौतहट, १५ असोज । रौतहटको गरुडास्थित प्रहरीको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको हिरासतमा राखिएको एक महिलाको मृत्यु भएको छ ।गुजरा नगरपालीका २ कटानी बजारकी राधिका राउतको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम साहले महिलाको मृत्यु भएको पुष्टि गर्नुभयो । उहाँका अनुसार सेवा केन्द्रमा राखिएकी मृतकलाई पहिलेदेखिनै छारे रोग रहेको र आज बिहान छारे रोगकै कारणले उनको सुतेकै स्थानमा मृत्यु भएको हो ।

गुजरा नगरपालिकाको कटानी बजारका सम्राट तामाङ र मृतक राधिकालाई उनका श्रीमान सुमन राउतले अनैतिक सम्बन्ध राख्दैगर्दा देखेको भन्दै बुधबार साँझ वडाअध्यक्ष अशोक कुमार थारुको रोहबरमा प्रहरी चौकी रंगपुरमा बुझाएका थिए ।

रंंगपुर प्रहरी चौकीले पक्राउ गरेपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई बुझाएका थिए । प्रहरी हिरासतमा राख्नुअघि दुबैको स्वास्थ्य परीक्षण गराएर हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो ।

महिला सेलको अभावमा सो कार्यालयमा राख्न असहज भएपछि मृतक महिलालाई गरुडा पठाइएको शाहीले जनाउनुभयो । हिरासतमा राख्नुअघि गरिएको स्वास्थ्य परीक्षणको क्रममा मृतक राधिकाले आफू छारेरोगको बिरामी भएको र लामो समयदेखि औषधि सेवन गरिरहेको प्रहरीलाई जानकारी उनले बताइकी थिइन् ।

शाहीका अनुसार उनको शवलाई चन्द्रनिगाहपुर अस्पतालमा पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको छ । मृतकसँगै पक्राउ परेका तामाङलाई भने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LIVE TV