१५ आश्विन २०७७, बिहीबार
  • सुबास लामिछाने

पर्वत, १५ असोज । एक हप्ता अघि न्युज २४ टेलिभिजनको सिधाकुरा जनतासंग कार्यक्रममा पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दी खोलामाथिको निर्माणाधिन पक्कीपुलको समाचार प्रसारण गरेसंगै निर्माणाधिन पुलको काम सुरु भएको छ ।

निर्माण सुरु गरेको ५ वर्ष बितिसक्दा पनि पुलको एउटा मात्रै पिल्लर ठडिएको थियो भने त्यो पनि अधुरै रहेको थियो । प्रत्येक वर्ष करोडौं बजेट छुट्याउँदा पनि ठेकेदारकै ढिलाइले निर्माणकार्य अलपत्र भएको स्थानीयले गुनासो गरेका थिए ।

पुल निर्माणका लागि २०७२ सालमै ६ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो भने २०७२ सालदेखि नै निर्माण थालिएको थियो । पुल चालु आर्थिक बर्ष ०७४/०७५ मा सम्पन्न गर्नुपर्ने भएपनि १५ प्रतिशत भन्दा काम सम्पन्न भएको थिएन । समाचार प्रसारीत भएको ५ दिन भित्रै पुलको काम शुरु हुन थालेसंगै स्थानियमा पनि खुसियाली छाएको छ ।

स्थानीय शालिकराम पौडेलले निर्माणको जिम्मा लिएका निमार्ण ब्यवसायीले पुलको बाकि काम शुरु गर्न लागेको बताए ।
स्थानियले यस अघि पटक–पटक निमार्णको माग गरे पनि काम शुरु हुन सकेको थिएन ।

निमार्णधिन पुलको राज्यले लगानी गर्ने अनुगमन निरीक्षण नगर्ने भएका कारण समस्या देखिएको थियो । सडक विभाग लगायतका निकायमा पुलको निर्माण कार्य अलपत्र परेको बिषयमा ध्यानाकर्षण गराउँदा समेत निकास निस्कन सकेको थिएन । उच्च पदस्थ ब्यक्तिहरुबाट नै ठेकेदारले संरक्षण पाएको स्थानीयहरुको आरोप थियो ।

LIVE TV