तेजाबविरुद्ध कठोर कानून बनाएको सरकारमाथि बलात्कारविरुद्ध अझ कडा कानून बनाउन दबाब (भिडियो)



प्रकाशित मिति : Sep 30, 2020
  • रिया भण्डारी,

काठमाडौं, १४ असोज । जतिसुकै आवाज उठेपनि गाउँठाउँमा सम्झनाहरु बलात्कारको शिकार बन्न छोडेनन् । नेपालमा बर्षेनी बलात्कारको घटना कहालीलाग्दो तवरले बढ्दै गएपछि हरेक दिन कुनै न कुनै बालिकादेखि वृद्धासम्मको चित्कार सुनिन छोडिएको छैन ।

दैनिक सरदर ३ देखि ४ वटा बलात्कारको घटना हुन थालेपछि अब कठोर कानून नै यस्को निराकरणका लागि उत्तम उपाय हुने भन्दै बहस छेडिन थालेको छ ।

महिलामाथि हुने हिंसाको सबैभन्दा आततायी अपराध हो बलात्कार । एसिड आक्रमणको बर्बरता अन्त्यका लागि सरकारले केही हदसम्म भएपनि कडा कानून बनाएको छ । योसंगै अब बलात्कारीमाथि कारवाही गर्न पनि कडा कानून बनाउनु पर्ने आवाज झनै चर्को बनेको छ ।

गत साताको बुधबार बझाङमा कल्कलाउँदी १२ बर्षीया बालिका सम्झना कामी बलात्कारको शिकार मात्र बनिनन् संसार चियाउने सपनाहरुलाई तिलाञ्जली दिदै यस धर्तीबाट विदा भइन ।

आवाजको कदर त्यतिखेरै हुनुपथ्र्यो जतिखेर कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्थमाथि न्यायको माग गर्दै समग्र मुलुक नै एकढिक्का भएको थियो । तर त्यो पाप त्यही रोकिन नसक्दा बलात्कारी पिपासुहरुको मनोबल यो देशमा हरेक दिन बढ्दो छ ।

नेपालमा बलात्कारको घटनाको पछिल्ला बर्षहरुको कहालीलाग्दो तथ्यांक

यो कहालीलाग्दो तथ्यांकले नेपाली समाज कति संवेदनहीन बन्दैछ भन्ने छर्लङ्ग पार्छ । त्यसमाथि बलात्कारमा पर्नेहरु ३ बर्षकी नानीदेखि लिएर ७३ बर्षकी हजुरआमाहरुसम्म छन् ।

बलात्कारीविरुद्ध फाँसीसम्मको सजाय माग गर्दै पूर्व प्रधानमन्त्रीहरुले गरेको ट्वीट पनि देख्न पाइन्छ भने ठूलो संख्यामा नेताहरु माइतीघर मण्डलामा भेला भएर चर्को नारासमेत लगाउने गरेका छन् ।

नेपालमा बलात्कारीविरुद्ध विद्यमान कानूनी व्यवस्था

– १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्षसम्म कैद ।

-दश वा दशभन्दा बढी र चौधवर्ष भन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्मको कैद ।

-चौध वर्ष वा चौध वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्ष कैद

-सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद

-अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म कैद

तर, कानूनमा कोरिएका न्यायका यही अक्षरहरु पनि व्यवहारमा उत्रिन सकेका छैनन । एक तर बलात्कारमा परेकीले भोग्नु पर्ने सामाजिक अपमान, न्याय पाउनका लागि रहेको झन्झटिलो अवस्था, न्यायालयबाट हुने अनुदारपूर्ण फैसला, पहुँचवालाको प्रभाव र प्रहरीको कमजोर छानविनका अलावा अस्पतालमा हुने अवैज्ञानिक परीक्षण विधिको कारण बलात्कारमा परेकाहरुले पीडामाथि पीडा भोग्नु पर्ने अवस्था छ ।

‘जहाँ नारीको सम्मान हुन्छ ,त्यहाँ भगवान पनि खुसी हुन्छन’ नीति शास्त्रमा उल्लेखित यो हरफ नेपाली समाजमा पढेको र घोकाइएको हरफ हुन् । तर यही समाजमा त्यही नीति हराउँदै गर्दा नारीमाथिको हिंसाले चरम रुप लिदो छ ।

के अब सरकारले एसिड आक्रमणको बर्बरताविरुद्ध लिएको कडा कदम बलात्कारविरुद्ध पनि उठाउने हिम्मत गर्ला त ?


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com