१४ आश्विन २०७७, बुधबार
  • रामगोपाल तमखु,

भक्तपुर, १४ असोज । भक्तपुर नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गर्ने विद्यालयले वैशाख, जेठ र असार महिनाको मासिक पढाइ शूल्क मिनाहा गर्नुपर्ने निर्णय गरेको छ ।

बुधबार भक्तपुर नगरपालिकाको नगर शिक्षा समितिको बैठकले तीन महिनाको मासिक शुल्क मिनाहा गर्ने तथा कुनै विद्यालयले तीन महिनाको शूल्क लिइसकेको भएपनि पछिल्लो महिनाको शूल्कमा समायोजन गर्नुपर्ने निर्णय गरेको हो ।

समितिको बैठकले भक्तपुर नगरापालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई वर्गीकरण गरी अनलाइन माध्यमबाट नै पठनपाठनलाई निरन्तरता दिने र आगामी मंसिर महिनामा हुने प्रथम त्रैमासिक परीक्षाका लागि तयारी गराउने निर्णय पनि गरेको छ ।

उक्त बैठकले साउन र भदौ महिनाको मासिक पढाई शूल्क बढीमा ५० प्रतिशत र असोज महिनादेखि हरेक कक्षामा मासिक पढाई शूल्कको बढीमा ७५ प्रतिशत मात्र लिने निर्णय गरेको छ ।

सबै प्रकारका विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दा हरेक दिन आधारभूत तहको कक्षा १–५ मा कम्तीमा २ पिरियड, कक्षा ६–८ मा कम्तीमा ३ पिरियड तथा माध्यमिक तहको कक्षा ९–१२ मा कम्तीमा ४ पिरियड पठनपाठनको व्यवस्था मिलाउनुपर्ने निर्णय गरिएको छ ।

भक्तपुर नगरपालिकाको तर्फबाट ख्वपको पहिचान नामक स्थानीय पाठ्यक्रमको भर्चुअल कक्षा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि भएको छ ।

LIVE TV