आकाश नै रंगीचंगी पार्ने चङ्गाहरु काठमाडौं उपत्यकाको आकाशमा देखिन छाडे ( भिडियो )



प्रकाशित मिति : Sep 30, 2020
  • प्रशान्त ठाकुर

काठमाडौ, १४ असोज । काठमाडौं उपत्यकामा दसैंको आगमनको संकेत गर्ने महत्वपूर्ण माध्यम हुन् – चङ्गा । तर धेरै बर्ष भयो काठमाडौंको आकाशमा चङ्गा देखिन छाडेका छन् । आकाशमा देखिने रंगीचंगी चङ्गा हराउन थालेपछि योसंग जोडिएको व्यवसायहरु पनि संकटमा पर्न थालेका छन् भने युवाहरु कोठा भित्र बसेर सामाजिक सञ्जालमा रमाउने फरक शैलीको विकास भएको छ ।

बडादसैंको आगमन र शरद ऋतुको प्रवेशसंगै एक समय काठमाडौं उपत्यकाका आकाश रंगीचंगी चङ्गाहरुले भरिन्थे । दसैं नजिकिदै गर्दा काठमाडौंका हरेक बालबालिकाका लागि चङ्गा उडाउनु उत्साहको अर्को चाड जस्तै हुन्थ्यो । तर काठमाडौं उपत्यकाका खुला फाँट भरिदै जानु , जताततै कंक्रिटका अग्ला अग्ला भवनहरु ठडिनु , विमानस्थल व्यवस्थापनले सूचना नै जारी गरेर विमानस्थल आसपासमा चङ्गा उडानमा प्रतिबन्ध लगाउनु र चङ्गा उडाउन रुची देखाउने बालबालिका विज्ञानका विकसित पछिल्ला प्रविधिमा अल्मलिनुले पनि चङ्गा उडाउने चलन हराउँदै गयो ।

हुनत काठमाडौंको आकाशमा उड्ने चङ्गाहरु र यस्मा प्रयोग हुने धागोदेखि लट्टाईसम्म भारतबाट आयात हुने गर्दछ । थरीथरीका चङ्गा र मञ्जा लगाएको धागो एवं लट्टाईको व्यापार पनि एक समय काठमाडौंमा मौलाएको व्यापार थियो । तर अहिले आकाशमा चङ्गा देखिन छाडेसंगै व्यापारीहरुको मन पनि चङ्गा हुन छाडेको छ ।

यता २०७५ साल असोज ११ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल आसपासमा चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर परेको भन्दै चङ्गा नउडाउँन सूचना नै जारी गरेको थियो । नेपालको हवाई इतिहासमा नै चङ्गाको कारण कुनै विमान दुर्घटना नभएको भएपनि यो कठोर चेतानवीको भाषा प्रयोग भएको उक्त सूचनाले काठमाडौंवासी बालबालिकामा चङ्गा उडाउन नहुने रहेछ भन्ने भावनात्मक असर पारेको धेरैको निष्कर्ष छ ।

काठमाडौंमा भदौ देखि कार्तिकसम्म चङ्गा उडाउने चलन भएपनि मुलतः दसैं र तिहारको विदामा स्कुले विद्यार्थीहरुले बढी मात्रामा चंङ्गा उडाउने गर्दै आएका थिए । तर चङ्गाका लागि धेरै पक्ष प्रतिकुल बन्दा विज्ञानले भित्र्याएका पछिल्ला आविष्कारमा बालबालिका बढी भुल्नुलाई मुख्य कारण मानिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com