१४ आश्विन २०७७, बुधबार
  • बालबिक्रम कार्की

रौतहट, १३ असोज । रौतहटमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका वडानम्बर ६ बस्ने २४ वर्षीय संगम भण्डारीको ज्यान गएको हो ।

मंगलबार बिहान ८ बजेतिर सोही स्थानमा बस्ने मृतक संगम भण्डारी, हरि खड्का, गुञ्जेश्वर राना र सुदिप थापाको समुह रंगपुर साझेदारी वनमा घाँस काट्न गएकोमा २४ वर्षीय संगम भण्डारी लामो समयसम्म जंगलमा हराएपछि र खोज्दा पनि नभेटिएपछि उनीहरु गाउँमा आएर खबर गरेका थिए ।

हराएका भण्डारीलाई खोज्न भनेर मंगलबार राति वनमा गएका युवाहरुको समूहलाई पनि बाघले आक्रमण गर्दा दुई युवा घाइते भएका थिए । घाइते हुनेहरुमा ३२ वर्षीय नविन श्रेष्ठ र २८ वर्षीय अशोक थापा रहेका छन् ।

उनीहरुको स्थानीय चन्द्रपुर अस्पतालमा प्राथामिक उपचार पश्चात थप उपचारको लागि बाराको कलैया लगिएको छ । उनीहरुको हात, पाखुरा, छाती, पेट तथा ढाडमा चोट लागेको छ । गाउँमा खबर भएपछि १४ जनाको युवाहरुको समुह हराएका भण्डारीलाई खोज्न वनमा जाँदा तुरतुरे धारा भन्ने स्थानमा अचानक बाघले आक्रमण गरेको स्थानीय सहदेव केसीले जानकारी दिनुभयो ।

आफूहरु संगमको खोजीमा राति ११ बजेतिर गाउँबाट करिब १० किलोमिटर भित्र जंगलमा पुग्दा खोल्सा नजिककैबाट बाघले आफूलाई आक्रमण गरेको घाइते नविन श्रेष्ठले बताउनुभयो । उहाँले तुरतुरे धारा नजिकबाट पानी खाएर हिड्ने क्रममा हराइरहेका भण्डारीको चप्पल देखेपछि सो स्थानमा खोज्ने क्रममा बाघले आक्रमण गरेको र बाघलाई छलेर आफूहरु रुख चढेर ज्यान जोगाएको अनुभव सुनाउनुभयो ।

अर्का घाइते थापाले आफूहरुले हराइरहेका भण्डारीको चप्पल र हसिँसा देखेपछि पछि सो स्थान वरपर खोजीरहँदा अचानक बाघले आक्रमण गर्दा हातले छेकेर बचेको र सबैजना कराएपछि बाघ भागेको बताउनुभयो । आफूहरुले देखेको बाघ ठूलो र पाटे रहेको उहाँले सुनाउनुभयो ।

हराएका भण्डारीको नेपाल प्रहरी , शसस्त्र प्रहरी, वन रक्षक तथा स्थानियको टोली पुगेर तुरतुरे धारा आसपास खोजी गर्दा भण्डारीको शव घटनास्थलबाट केही टाढा झाडीमा कम्मर तलको भाग खाइसकेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्रमुख प्रहरी उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो ।

हाल उनको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा राखिएको छ ।

LIVE TV