१३ आश्विन २०७७, मंगलवार
  • बासुदेव भट्ट,

बेलौरी (कञ्चनपुर), १३ असोज । कोरोना महामारीको समयमा सीमावर्ती क्षेत्र कडाई गर्ने सरकारको निर्देशन अनुसार ठाँउ–ठाँउमा २४ सै घण्टा सीमा सुरक्षाबल तैनाथ गरिएको छ ।

तर, सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले नदेखेको अबैध सामग्री पटक–पटक भित्री गाँउमा पुग्न थालेपछि पुनर्वासका स्थानीयहरु आश्चर्यमा परेका थिए ।

पछिल्लो पटक जनपद प्रहरीको नेतृत्व परिवर्तन भएसँगै पुनर्वासमा दिन प्रतिदिन भारतबाट भन्सार छली गरी ल्याएको अबैध सामग्रीहरु बरामद भइरहेका छन् ।

प्रहरी निरीक्षक वकिल सिंहको बिदाईपछि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा केही दिन अघि मात्रै सरुवा भएर आएका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले कमाल गरिरहेका छन् ।

उनले सशस्त्र प्रहरीद्वारा नदेखिएको र नभेटिएको अबैध सामग्रीहरु छ्याप–छ्याप्ती बरामद गरेर कमाल गरिरहेका स्थानीयहरुको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा नयाँ सरुवा भएर आएका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टलगायत जिल्लाको संयुक्त टोलीले सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरी भित्र्याइएको करिब ७० हजार मूल्य बराबरको बिजुलीका सामग्रीहरु बरामद गरी भन्सार चलान गरेको छ ।

उनले जिख्लाको दक्षिणी क्षेत्रमा भारतीय खुला सीमा भएका कारण चोरी तस्करी न्यूनीकरण तथा अपराधिक गतिविधि रोकथामका लागि प्रहरीको कडा निगरानी रहेको बताए ।

त्यस्तै, मंगरबार पुनः इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको गस्ती टोलीले आईबीआरडी बजारमा रहेको पुर्णागिरी हार्डवेयरको गोदामबाट भन्सार छली गरी ल्याइएको करिब २० हजार बराबरको मही बनाउने इलेक्ट्रोनिक मदानी २२ (थान) बरामद गरी भन्सार चलान गरिएको प्रहरी निरीक्षक बिष्टले बताए ।

निरीक्षक बिष्टले हाजिर गरेको तीन दिन नबित्दै करिब एकलाख बराबरको सामग्री बरामद गरि भन्सार चलान गरेका छन् ।

LIVE TV