१३ आश्विन २०७७, मंगलवार
  • तारा आचार्य,

विराटनगर, १३ असोज । विराटनगरका बजारमा पाइने गुणस्तरहीन स्यानिटाइजरहरु विक्री भइरहेको गुनासो आएपछि औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले स्यानिटाइजर उद्योगको अनुगमन सुरु गरेको छ ।

अनुगमनका क्रममा विराटनगर वडा नम्बर १५ स्थित ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल प्रालिले अनाधिकृत रुपमा उत्पादन गरिएको करिब २ हजार लिटर स्यानिटाइजर जफत गरिएको छ ।


सो सर्जिकलमा औषधि व्यवस्था विभागबाट अनुमतिको प्रक्रिया समेत सुरु नगरेको र गोदाममा थन्क्याएर राखिएको अवस्थामा स्यानिटाइजर फेला परेको थियो । जफत गरिएको स्यानिटाइजरको गुणस्तर जाँचका लागि राष्ट्रिय औषधि प्रयोगशाला काठमाडौं पठाइने र रिपोर्ट नआएसम्म विक्री वितरणमा रोक लगाइएको औषधि व्यवस्था कार्यालय विराटनगरका प्रमुख सञ्जिब शर्मा कट्टेलले जानकारी दिए ।

औषधि व्यवस्था कार्यालय विराटनगर नेतृत्वको अनुगमन टोलीले सुनसरी मोरङ औद्योगिक कोरिडोरका आधा दर्जन स्यानिटाइजर उद्योगहरुको अनुगमन गरेको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

उद्योगको अनुगमनपछि बजारमा विक्री भइरहेका स्यानिटाइजरहरुको अनुगमन गरिने औषधि व्यवस्था कार्यालय विराटनगरले जनाएको छ । स्यानिटाइजर उद्योग दर्ताको लागि पहिले तीन महिना र थप तीन महिन गरी ६ महिना म्याद दिइएको प्रमुख कट्टेलले जानकारी दिए ।

 

LIVE TV