बलात्कारीलाई हाइसन्चो, पीडितलाई छट्पटी !



प्रकाशित मिति : Sep 29, 2020
  • मनिषा आचार्य

गत साता बझाङको मष्टा गाउँपालिका- २ की १२ बर्षीया सम्झना कामि बुधबार साझ साढे पाँच बजेतिर घरबाट गाइगोठमा जाँदा बलात्कारीको फन्दामा परि हत्या भयो । गोठमा गाइबस्तुलाइ घाँस हालेर फर्कन्छु भनेर घरबाट निस्किएकी उनी कहिल्यै नफर्किने गरेर सन्सारबाट बिदा भइन् । १२ वर्षीया बालिकाको शव मन्दिरभित्र फालिएको तस्वीर सार्वजनिक भएपछि त्यसले सबैलाई स्तब्ध बनायो ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रीय ब्यवस्थामा प्रवेश गरेसगै केन्द्रदेखि स्थानीय तहसम्म सुरक्षा ब्यवस्थापन गर्ने निकायहरू तैनाथ रहदारहदैपनी दिनप्रतिदिन बलात्कारका घटनाहरु बढिरहनु हामी सबैको साझा समस्या र गम्भीर चासोको बिसय हो । बलात्कार मानव सभ्यताको क्रुर र बर्बरताको घिनलाग्दो अभिव्यक्ति हो ,जहाँ उन्मादको प्रस्तुतिमा यौन मुछिएको हुन्छ, फेरि बलात्कार उन्माद मात्र होइन बरु महिला माथिको नियन्त्रण र घृणाको अपराधपूर्ण अभिव्यक्ति पनि हो ।

बलात्कार आबेगमा आएर हुने अपराध हो, यस्तो अपराधीक मनोवृत्ति के कारणले भइरहेको छ भन्नेबारे अध्ययन नगरी समस्यको जरोमा पुग्न बडो मुस्किल छ । कतिपय वृद्धहरुमा अतृप्त यौन कुण्ठा छ भने बयस्कहरुमा उत्सुकता । अन्ततः दोषीले सजाय नपाउनुको कारण नै बलात्कारका मुद्दाहरु दिनप्रतिदिन मौलाएका हुन् । यसरी घटनाहरुमा वृद्धि हुनु र दोषीले सजाय नपाउनुमा समाजको महत्त्वपूर्ण भुमिका रहन्छ ।

समाजको सहयोगबिना अपराधको अनुसन्धान हुनै सक्दैन किनभने हाम्रो समाज राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सास्कृतिक ,पारिवारिक, बर्ग र क्षेत्रका आधारमा बिभक्त छ । यहाँ कुनै अपराधका घटना घटेका आधारमा मानिसहरु पक्ष र बिपक्षमा खुलेर नै लाग्ने गर्छन जसका कारण घटनाको बास्तबिकता उजागर हुन सक्दैन र दोषीले उन्मुक्ति पाउने सम्भावना बढेर जान्छ ।

तीब्र रुपमा समाजमा यौन मानसिकता झागिरहेको बर्तमान अवस्थामा अर्को महत्वपूर्ण कारण मदिराको सर्वसुलभता, लागुपदार्थको सेवन र हरेक मानिसको हातमा हुने स्मार्टफोनमा भेटिने अश्लिल भिडियोहरु पनि हुन् । कतिपय मानिसहरुले महिलाको पहिरनपनी बलात्कारको कारक भनेर गलत ब्याख्या गर्छन तर एक्सन एड भारतमा कार्यरत सारिका सिन्हाले गरेको एउटा सर्बेक्षणमा बलात्कारमा परेका मध्ये ४८ बुर्का वा साडिमा, ४१५ ले कुर्ता सुरुवाल र बाकी १०५ फ्रक लगाएका थिए ,जसम फ्रक लाउनेहरु सबै १० बर्शभन्दा कम उमेर समुहका थिए ।

अत: अभाव, दवाव,प्रभाव,अशिक्षा, सामाजिक बाताबरण ,नकारात्मक सोच, लोभ, लालच, बिलासिता, आधुनिकीकरण, राजनितीक स्वार्थ, ब्यक्तिका नितान्त ब्यक्तिगत स्वार्थ आदिका कारणले पनि यस्ता घटनाहरू दिनानुदिन पुनरावृत्ति भैरहेका छन् । किशोरी वा बालबालिका बढी बलात्कारको जोखिममा छन त्यसमा पनि अभिभावक टाढा रहेका,पारिवारिक बिखन्डन भएका,गरिब तथा बिपन्न र दलित लगायतको समूह बलात्कारको उच्च जोखिममा छन्

नेपालको नयाँ संविधानको कानुनले यौन अपराधलाइ जघन्य अपराधका रुपमा परिभाषित गरेको छ । १० बर्शभन्दा कम उमेरकी बालिका, वृद्धा ,पूर्णरुपमा अशक्त ,अपाङ्गता भएकि महिला वा ६० बर्शभन्दा बढी उमेरका महिलालाइ जबर्जस्ती करणी गरेमा २५ बर्ष, १० बर्श या सो भन्दामाथि १४ बर्ष सम्मकी बालिका भए २८-२० बर्ष ,१४ बर्ष भन्दामाथि १२-१४ बर्ष र सो भन्दा बढि उमेर समुहका बालबालिका वा महिलाहरुलाइ जबर्जस्ती करणी भएमा १०-१२ बर्षसम्म कैद सजायको नयाँ ब्यवस्था गरेको छ ।

मुलुकमा अहिले दैनिक औसतमा ६ जना महिला बलात्कृत भइरहेका छन् । नेपाल प्रहरीका अनुसार गत आर्थिक बर्षमा २२३० महिला बलात्कृत भएका छन् भने ७६८ महिलामाथी बलात्कारका प्रयास भएका छन । करिब डेढ दशक अघि २०५५\५६ मा बर्समा १४१ महिला बलात्कृत भएका रहेछन भने १८ जनालाइ बलात्कारको प्रयास भएको रहेछ । नेपालको सन्दर्भमा यतिबेला २०७० देखि ७६ सम्म आउदा बलात्कारका घटनाहरु ४१५ ले बढेको नेपाल प्रहरीले जनाएको छ ।

नेपालमा बलात्कारका कारणहरु सर्बबिधितै छ्न र समस्याका समधानका उपायहरुको पनि कमि छैन तर यहाँ कमि छ त केवल चुस्त- दुरुस्त कार्यसम्पादनको,कुशल नेतृत्वको न्यायिक जवाफदेहीताको अनि दृढताको। सामाजिक चेतनाको बिकास जुनसुकै अपराध नियन्त्रणको एक महत्त्वपूर्ण खुड्किलो हो । कानुनका ठेलिहरुमा जतिसुकै सजायको ब्यवस्था भएतापनी अधिकाङ्स बलात्कारका घटनाहरु अदालतमा पुग्न पाउदैनन् ।

परिवारदेखि प्रहरीसम्मकै मिलेमतोमा लागेर घटना सामसुम पारिन्छ । अदालतसम्म मुद्दाहरु पुगिहालेपनी पीडकलाइ छुटाउदै र निर्दोष साबित गर्न कुनै कसुर बाँकी राख्दैनन् । अझ अचम्मको कुरा त कानुनको ठेली अनुसार भन्दा पनि न्यायाधीशका स्वबिबेकमा बलात्कारका मुद्दामा फैसला हुन्छ ।

पर्याप्त प्रमाणसहित अदालत पुगेका कतिपय मुद्दाहरु समेत प्रहरिको असहयोगका कारण पिडित पक्षले हारेका उदाहरणहरु पर्याप्त मात्रामा छन ्र मुद्दा कमजोर बनाइदिने कतिपय प्रहरी अधिकृतकै कारण पिडितले न्याय पाउदैनन् । यसरी सर्सर्ती हेर्दा पिडितले न्याय नपाउनुमा मुख्यतः तिनवटा कुराहरुको कमि रहेको देखिन्छ ।

१, कमजोर सुरक्षा निकाय: (क) प्रहरिले मुद्दा दर्ता गर्न नखोज्ने ( ख) पर्याप्त प्रमाण सङ्कलन नगर्ने ( ग) अदालतमा पुगेका मुद्दामा असहयोग गर्ने ,

२, अदालत : (क)लामो र झन्झटिलो प्रक्रिया ( ख) बन्द इजलासको अभाव ( ग) पहुँचवालाको प्रभाव,

३, अस्पताल: (क) अबैज्ञानिक स्वास्थ परिक्षण (ख) प्रभाव अनुसारको रिपोर्ट नहुनु (ग) निश्चित मापदण्डको अभाव,

यी र यस्तै कारणहरुले गर्दा आज समग्र समाजका महिला तथा बालबालिकाहरु असुरक्षित र भयभीत हुनुपर्दा शान्ति ,सुरक्षा र आत्मसम्मानमा गहिरो प्रश्न उठेको छ ।

हाम्रो समाज ,सामाजिक मानसिकता र परिवेशलाइ हेर्दा कुनैपनि बालिकालाइ बलात्कारपछि हत्या गरिनु र बलात्कृत हुनुमा कुनै फरक छैन । बलात्कारमा परेकी महिला उसको बाकी जीवन मानसिक रुपमा पटकपटक बलात्कृत हुँदै बाँचेकी हुन्छिन तर बलात्कारी ५ बर्षदेखि बढिमा २० बर्ष जेल बसेर छुट्छ

राज्यले बलात्कारी लाइ जनश्रमदानमा जोड्नुको साटो बकाइदा दाल र भात खुवाएर राख्छ । अझ पैसा र पहुँच छ भने उ सकेसम्म जेल बस्दैन बसिहालेपनि पहुँचहुनेहरु लामो समय बस्दैनन् । कतिपय स्थानमा नागरिकका पहरेदार सुरक्षाकर्मिहरुले नै यी किसिमका अपराधिक घटना घटाइरहेका हुन्छन् ।

उनीहरु पक्राउ परेपनि न्यायलयलाई प्रभावित पार्न र किन्न सकिन्छ भन्ने बिश्वास राखेको पाइन्छ । अपराधिलाइ हाइसन्चो भइरहेको बेला पीडितहरु छट्पटीमा हुन्छन
। कतिपय स्थानमा बालबालिकाहरु आफ्नै संरक्षक र अभिभावकबाट प्रताडित हुदा समेत बोल्न सक्ने सुरक्षित र स्वतन्त्र परिस्थितिको सृजना हुन सकेको छैन ,जसका कारण यौन हिंसाका अधिकाम्स घटनाहरु अझै त्रास र प्राबिधिक कारणले बाहिर आउन सकेका छैनन् ।

अन्ततः बलात्कार हामी सबैको साझा समस्या हो । सर्वप्रथम महिला र बालबालिकालाई यौन शिक्षा र यौनजन्य अपराधका बारेमा बिध्यालय,क्याम्पस र घर- घरमा गएर जनचेतनामूलक कार्यक्रम फैलाउने सन्दर्भमा राज्री पक्ष गम्भीर हुनु आवश्यक देखिन्छ । आफ्नै नातागोता वा समाजका कुनै सदस्यले यौन अपराध गरेको अवस्थामा त्यसको विरुद्धमा आवाज उठाउने,अपराधको अनुसन्धान र न्याय निरोपणमा सहयोग गर्ने हो भने पनि यस्ता घटना केही हदसम्म कम हुन सक्छ्न् ।

बलात्कार विरुद्धको आवाज बुलन्द गर्ने अभियान महिलाको मात्र होइन पुरुष सहभागिता पनि उत्तिकै अपरिहार्य छ । बलात्कार त लिंगले होइन एउटा अपराधीले गर्छ यसर्थ बलात्कार र बलात्कारिको बिरोध गरौ ,कठोर भन्दा कठोर सजायको कानुनको माग र प्रभावकारि कार्यान्वयनको माग गरौँ । दबाव सिर्जना गरौ,महिला सम्मान र सह( अस्तित्वको अभियानको थालनी गरौ,बलात्कार समग्र सभ्य समाजको कलङ्क हो स्वस्थ समाज बन्नका लागि हाम्रो सामाजिक मनोबिज्ञान र चिन्तन फेरिनै पर्छ,पीडितलाई सम्मान र पिडकलाइ सामाजिक बहिस्कारको अभियान सुचारु गरौ ।

अपांगता, वृद्धा,नाबालिका र हाडनाता करणी जस्ता पिडितको मुद्दामा बिशेष कानुनको तर्जुमा गर्न सरकारलाई दबाव दिऔँ,आ-आफ्नो ठाउँबाट व्यापक संघर्षका कार्यक्रमहरुको तर्जुमा गरौँ ।

हामि मुकदर्शक नबनौ, समुदाय र प्रहरी साझेदारी जस्ता कार्यक्रम चलाउने, यतिबेला देशका विभिन्न ठाउमा बलात्कारिलाइ मृत्युदण्डको सजायको चौतर्फी माग बढीरहेको अवस्थामा यो बिसयमा राज्य अत्यन्तै गम्भीर हुन आवस्यक देखिन्छ । बेलैमा कानुन संसोधन गरि बलात्कारिलाइ मृत्यदण्डको सजाय कानुनत: उल्लेख गर्नुपर्छ ।

लेखक आचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँचथर जिल्ला कमिटी सदस्य हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com