‘दक्षिण चीन सागर’मा चीनको कुनै अधिकार छैन, यसविरुद्ध हामी कदम चाल्छौँ : अमेरिका



प्रकाशित मिति : Sep 29, 2020

एजेन्सी, १३ असाेज । अमेरिकाले ‘दक्षिण चीन सागर’मा चीनको कुनै कानुनी अधिकार नभएको दाबी दोहोर्‍याएको छ । दक्षिण चीन सागरमा पहिलेदेखि नै विवाद हुँदै आएको छ ।

खासै मानव बसोबास नभएका दुई टापुका शृङ्खला प्यारासेल्स र स्प्रयट्लिसको स्वामित्वबारे चीन, भियतनाम, फिलिपिन्स, ताइवान र मलेशियाबीच विवाद हुँदै आएको छ । सो सागरको केही स्थानमा ब्रुनाईको पनि दाबी रहेको छ।

चीनले सयौँ वर्षदेखि आफ्नो अधिकार भएको भन्दै साउथ चाइना सीमा भएका टापुहरूको ठूलो भागमाथि आफ्नो दाबी गरेको छ । सन् १९४७ मा चीनले आफ्नो दाबी स्पष्ट देखिने खालको एउटा नक्सा नै प्रकाशित गरेको थियो ।

चीनले दक्षिण चीन समुद्री क्षेत्रमा सैन्य शक्ति बढाइरहेको छ र यसलाई आफ्नो सार्वभौमसत्ताको रक्षा भनिरहेको छ । अमेरिकाले भने चीनले त्यो क्षेत्र आफ्नो नियन्त्रणमा लिन समुद्री सैन्य अड्डाको प्रयोग गरिरहेको आरोप लगाएको छ ।

अमेरिकाको विदेश विभागका प्रवक्ता मोर्गन ओर्टागसको दाबीअनुसार ५ वर्षअघि २०१५ सेप्टेम्बर २५ मा चीनका राष्ट्रपतिले ह्वाइट हाउसको हाउस रोज गार्डेनमा आफ्नो मुलुकले स्प्राटली टापुलाई सैन्यीकरण गर्ने चाहना नराख्ने बताएका थिए ।

‘साथै अरू कुनै पनि देशलाई समुद्री सैन्य अड्डामार्फत अनुमति नदिने र यो मामिलामा जबर्जस्ती नगर्ने बताएका थिए। तर चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले यो प्रतिबद्धा बिर्सेको छ,’ उनले भने ।

अमेरिकी विदेश विभागका प्रवक्ता ओर्टागसले चीनको यो ‘खतरनाक व्यवहार’विरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनुपर्ने बताएका छन् । साथै उनले यो कदमविरुद्ध दक्षिणपूर्व एसियामा आफ्ना सहयोगी मुलुकसँग मिलेर आवाज उठाउने चेतावनी दिएका छन्।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com