१२ आश्विन २०७७, सोमबार
  • हरिशंकर शर्मा

वीरगञ्ज (पर्सा), १२ असोज । वीरगञ्ज भन्सार कार्यालयमा साउन महिनादेखि राजस्व संकलनमा वृद्धि भएको छ । वीरगञ्जस्थित दुईवटा भन्सार कार्यालयले साउन र भदौ महिनामा सन्तोषजनक राजस्व असुली गरेको छ ।

कोरोना संक्रमणले गर्दा मालसामान आयातमा कमि आएपछि लक्ष्य अनुरुपको राजस्व संकलन गर्न नसकेको वीरगञ्ज भन्सार कार्यालय साउन र भदौ महिनामा सन्तोषजनक राजस्व असुली गरेको सूचना अधिकारी विमल कुमार साहले जानकारी दिनुभयो ।

वीरगञ्ज भन्सार कार्यालयले यस आर्थिक वर्षको साउनमा ११ अर्ब ४२ करोड ७४ लाख राजश्व संकलन गर्ने लक्ष्य पाएकोमा कोरोना संक्रमणले गर्दा अर्थ मन्त्रालयले लक्ष्य घटाएर ६ अर्ब ४२ करोड ७४ लाख निर्धारण गरेको थियो ।

त्यस लक्ष्य अनुसार वीरगञ्ज भन्सार कार्यालयले साउन महिनामा ७ अर्ब ७४ करोड ८१ लाख राजश्व संकलन गरेको थियो । जुन संशोधित राजस्व संकलन लक्ष्यको १ सय २१ प्रतिशत हो ।

यसैगरि भदौ महिनामा १२ अर्व १० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८ अर्व ५९ करोड ५८ लाख राजस्व संकलन गरेको छ । जुन लक्ष्य अनुसारको ७१ प्रतिशतको हाराहारीमा रहेको छ ।

लक्ष्य भेटाउन नसकेपनि साउन महिनाको तुलनामा करिब १ अर्व बढि राजस्व असुली भएको सूचना अधिकारी साहको भनाई छ । कोरोना संक्रमणले गर्दा बजारहरु बन्द रहेको कारण मालसामान आयातमा कमि रहेकोमा लकडाउन खुकुलो भएसँगै विस्तारै मालसामान आयातमा वृद्धि भएसँगै राजस्व संकलनमा पनि वृद्धि भएको हो ।

त्यसैगरी वीरगञ्ज श्रीसियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले साउन महिनामा १ अर्ब ७८ करोड राजश्व संकलनको लक्ष्य पाएकोमा १ अर्ब ८६ करोड राजश्व संकलन गरेको थियो, जुन लक्ष्य अनुसारको १ सय ४ प्रतिशत रहेको छ भने भदौमा ३ अर्ब १२ करोड राजस्व संकलनको लक्ष्य पाएकोमा २ अर्ब ५१ करोड राजश्व संकलन गरेको छ, लक्ष्यको ८० प्रतिशतको हाराहारीमा रहेको छ ।

कोरोना संक्रमणको कारण करिब ६ महिना आयात निर्यात न्यून भएको वीरगञ्ज नाकाको दुई भन्सारबाट हाल सामान आयातमा उल्लेख्य बृद्धि देखिएको हो । साउन महिनासम्म दैनिक बढिमा ३ सय गाडी भित्रिने वीरगञ्ज भन्सार नाकाबाट हाल दैनिक ६ सयसम्म गाडी पास हुन थालेको छ ।

कोरोना संक्रमण अघि यही नाकाबाट दैनिक ८ सयदेखि १ हजारसम्म गाडी सामान भित्रिने गर्दथ्यो ।

LIVE TV