ग्रानाडामाथि एट्लेटिको शानदार जित : २० मिनेट खेलेका सुआरेजले २ र १ असिस्ट गरे



प्रकाशित मिति : Sep 28, 2020

एजेन्सी, १२ असाेज । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले ग्रानाडामाथि शानदार जित निकालेकाे छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले ग्रानाडालाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एट्लेटिकोको जितमा वैकल्पिक खेलाडीका रुपमा रहेका सुआरेजले अन्तिम २० मिनेट मैदानमा बिताएपनि दुई गोल र एक असिस्ट गरे  । खेल ३-० को स्थितिमा मैदान प्रवेश गरेका सुआरेजले दुई मिनेटमा नै असिस्ट दिएका थिए । त्यस्तै डियगो कोस्टा, एन्जल कोरेरा, जाओ फेलिक्स र मार्कोस लोरेन्टेले एक–एक गोल गरे । उता ग्रानाडाका लागि मोलिन भिडालले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा कोस्टाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको एट्लेटिकोले दोस्रो हाफमा थप पाँच गोल थप्याे । खेलको ४७ औँ मिनेटमा एन्जल कोरेराले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । ६५ औँ मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकाको अग्रता ३–० पारे । ७२ औँ मिनेटमा लोरेन्टेले एट्लेटिकोका लागि चौथो गोल गरे ।

८५ औँ मिनेटमा सुआरेजले एट्लेटिकोका लागि डेब्यू गोल गरे । यो सिजन मात्र बार्सिलोनाबाट अनुबन्ध भएका उनले पहिलो खेलमा नै गोल गर्न सफल भएका हुन् । ८७ औँ मिनेटमा ग्रानाडाका लागि भिडालले सान्तोना गोल फर्काए ।

खेलको इन्जुरी समायमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई ६-१ गोलको सहज जित दिलाए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com