सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई फाँसीको माग गर्दै काठमाडौंमा प्रदर्शन



प्रकाशित मिति : Sep 27, 2020

काठमाडौं, ११ असोज । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

आइतबार संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए । उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका छन् ।

उनीहरुले यस्ता घटनाहरु पटक पटक दोहरीएपनि कमजोर कानून भएका कारण दोषीहरुले उन्मुक्ति पाउने गरेको भन्दै कडा कानून नवनाएसम्म घटनाहरुमा कमी नआउने बताए ।

सडक बहसमा पुग्नुभएकी नेकपा सांसद रामकुमारी झाक्रीले प्रहरी प्रशासनको प्रभावकारीताको समिक्षा गर्न जरुरी रहेको बताउनुभयो । उहाले मुलुकका ग्रामीण क्षेत्रमा राज्यको उपस्थीति नदेखिएकाले महिला हिंसा सम्बन्धी घटना दोहरिएको जिकिर गर्नुभयो ।

असोज ७ गते बुधबार साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी बझाङको मस्टा गाउँपालिका २ की सम्झना विक मृत फेला परेकी थिइन् । उनको शव निर्वस्त्र अवस्थामा स्थानीय सिमदेवता मन्दिरमा भेटिएको थियो ।

उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com