कञ्चनपुर : बेलौरीका उखु किसानको विवरण दर्ता सुरु



प्रकाशित मिति : Sep 27, 2020
  • शितल भट्ट,

बेलौरी, ११ असोज । कञ्चनपुरको बेलौरी नगरपालिकामा उखु किसानको विवरण दर्ता सुरु भएको छ । बेलौरी नगरपालिका कृषि शाखाले नगदेबालीको रुपमा रहेको उखु बालीको विवरण दर्ता गर्न सुरु गरेको हो ।

चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो साउन महिनादेखि नै उखु किसानहरुको विवरण संकलन गरिरहेको छ । कृषि शाखाले नगरका १० वटै वडाबाट विवरण दर्ता शुरु गरेको जनाएको छ ।

उखु किसानलाई सरकारले दिने अनुदान र किसानको हक हितका लागि विवरण दर्ता कार्य भइरहेको बेलौरी नगरपालिका कृषि शाखाले जनाएको छ ।

बेलौरी नगरपालिका कृषि शाखा प्रमुख प्राविधिक सहायक सुमन राज जोशीले मन्त्रालयको निर्देशन अनुसार बेलौरी नगरपालिका क्षेत्रका किसानको विवरण संकलन भइरहेको बताए ।

‘सबै वडामा किसानको विवरण संकलन भइरहेको छ । कुल १० वडा मध्ये ९ वडाको विवरण दर्ता भइसकेको छ, अब १० नम्बर वडा मात्रै बाँकी छ’ उनले भने ।

९० प्रतिशत दर्ता कार्य सम्पन्न भइरहेको बताउदै उनले खडा बाली प्रमाणिकरणका लागि सरकारले सो कार्य गरेको बताए । ‘हामीले किसानको खडा बालीको विवरण संकलन गछौं’, उनले भने, ‘खडा बाली काटेर किसानले उद्योगमा बिक्री गर्दा विवरण भिडाइन्छ ।’

असोज मसान्तसम्म विवरण संकलन गर्नुपर्ने भएकाले अन्तिम अन्तिम तिर छुटपुट विवरण पुनः संकलन गरेर मन्त्रालय पठाइने उनले बताए ।

बेलौरी नगरपालिका कृषि शाखा नायब प्राविधिक सहायक शुशीला बोहराले किसानकै हितका लागि विवरण संकलन भइरहेको बताइन् । ‘यो कार्यबाट वास्तविक किसानलाई नै लाभ हुन्छ, ‘उनले भनिन्, ‘फर्फी कार्य हुदैन, अनुदानका लागि पनि सहज हुन्छ ।’

उखु किसानको विवरण दर्ताका लागि किसानको नागरिकता, लालपूर्जा, भाडामा भए सम्झौता, ऐलानी भए चार किल्ला प्रमाणित गरेको प्रमाण पत्र लिएर दर्ता भइरहेको बताए ।

बेलौरी नगरपालिका कृषि शाखा अर्का नायब प्राविधिक सहायक हरिश सेठीले उखु किसानको एकिन तथ्याङ्क संकलनबाट विचौलियाले चलखेल गर्न नपाउने बताए । ‘ऐकिन तथ्याङ्कबाट किसानलाई फाइदा र राज्यलाई लाभ हुन्छ’, उनले भने, ‘भारतबाट आउने उखु समावेस हुदैन ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com