११ आश्विन २०७७, आईतवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), ११ असोज । लामो समयको लकडाउन तथा निषेधाज्ञाका कारण बन्द भएका उद्योगहरु सञ्चालनमा समस्या देखिएको छ । कोरोना संक्रमणको महामारीले गर्दा वीरगन्ज औद्योगिक कोरिडोर क्षेत्रमा रहेका साना तथा ठूला गरी करिब २ हजार उद्योगहरु सञ्चालनमा आउन समस्या देखिएको हो ।

लकडाउन तथा निषेधाज्ञा केही खुकुलो भएसँगै उद्योगहरु सञ्चालनमा ल्याउने कार्य भइरहेको समयमा हालसम्म वीरगन्ज औद्योगिक कोरिडोर क्षेत्रमा ३० देखि ४० प्रतिशत मात्रै उद्योगहरु सञ्चालनमा आउन सकेका छन् ।

तर, बाँकी उद्योगहरु सञ्चालनको तयारीमा रहेका र सम्पूर्ण उद्योगहरु सञ्चालनमा आउन अहिलेपनि करिब तीन महिनासम्म लाग्न सक्ने वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए ।

उनका अनुसार लकडाउनका कारण बन्द भएका उद्योगहरुमा भारतीय कामदारहरु आउन नसक्नु, कामदाहरुको लागि क्वारेन्टाइन तथा आइसोलेशनको व्यवस्था हुन नसक्नु, मुलुकभरिकै बजार व्यवस्थापन हुन नसक्नु र नेपाल सरकारले मौद्रिक नीतिमा ल्याएको पुर्नकर्जा प्रभावकारी हुन नसकेको कारण पनि बन्द उद्योगहरु सञ्चालनमा आउन समस्या भएको हो ।

वीरगन्जका अधिकांश उद्योगहरुमा भारतीय कामदार भएकाले लकडाउनका कारण उनीहरु आफ्नै मुलुकमा रोकिएको र कामदारको अभावमा पनि उद्योग सञ्चालन गर्नसक्ने अवस्था नरहेको गुप्ताको भनाइ छ ।

अर्कोतर्फ नेपाल सरकारले सर्वसाधारण नागरिकहरुको लागि व्यवस्था गरेको क्वारेन्टाइन तथा आइसोलेशनको व्यवस्था नगरेको कारण पनि उद्योग सञ्चालनमा बाधक बनेको गुप्ताको भनाइ छ ।

नेपाल सरकारले उद्योगहरु सञ्चालन गर्दा नेपाल बाहिरबाट आउने कामदाहरुको लागि क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था आफै गर्नुपर्ने भनिरहेको र उद्योगहरुले आफ्नो क्वारेन्टाइन तथा आइसोलेशन बनाउन सक्ने अवस्था नरहेकोले भारतीय कामदाहरु नेपाल आउन नसकेको बताइरहेका छन् ।

यसैगरी मुलुकभरीको बजार व्यवस्थापन गर्न नसकेको कारण पनि उद्योगहरु सञ्चालनमा आउन समस्या देखिएको छ । अहिलेपनि मुलुकका ठूलठूला शहरहरु कोरोना संक्रमणको कारण बन्द अवस्थामा रहेको कारण उत्पादित सामानहरु बजारमा पुग्न नसकेकाले पनि उद्योग सञ्चालनमा समस्या भएको नेपाल चामल, दाल, तेल उद्योग संघ नेपालका अध्यक्षसमेत रहेका गुप्ताको भनाइ छ ।

उनका अनुसार लकडाउन फुकुवा भएको एक महिना वित्न लाग्दा पनि हालसम्म ठूलठूला सहरहरुबाट खासै अर्डरहरु नआएको कारण उत्पादित सामानहरु बजारसम्म पु¥याउन नसकिएको र बाँकी बक्यौता पैसा पनि उठ्न नसकेको कारण उद्योगहरु सञ्चालनमा आउने समस्या देखिएको बताए ।

अर्कोतर्फ लकडाउनको बखत धरासायी बनेको उद्योगहरुको सहुलियतका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको पुर्नकर्जा प्रवाह हुन नसकेकाले पनि उद्योग सञ्चालनमा समस्या रहेको उद्योगी गुप्ताको भनाइ छ ।

LIVE TV