वीरगञ्ज महानगरभित्र ट्राफिक व्यवस्थापन गर्न खोज्दा झन अव्यवस्थित बन्दै गएपछि…



प्रकाशित मिति : Sep 27, 2020
  • हरिशंकर शर्मा

वीरगञ्ज, ११ असोज । वीरगञ्ज महानगरभित्र ट्राफिक व्यवस्थापनको नाममा सडक छेउमा फलामे सिक्री लगाएको कारण ट्राफिक अव्यवस्थित बन्दै गएको छ । वीरगञ्ज महानगरपालिका, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको समन्वयमा वीरगञ्ज महानगरभित्र रहेका सडकहरुको छेउमा सिक्री लगाइएको छ, जसले गर्दा जथाभावी सवारी पार्किङ हुन थालेको हो ।ट्राफिक व्यवस्थापन गर्नका लागि सडक छेउमा लेन बनाइ पार्किङ्को व्यवस्था गरिएको थियो तर त्यो नियमलाई हटाएर महानगरपालिकाले आदर्शनगरस्थित पुरानो बसपार्कमा सवारी पार्किङ गरेर नगरक्षेत्रभित्र सामानहरु किनमेल गर्न जाने भनेर सडक छेउमा रहेका सवारी पार्किङ लेनलाई फलामे सिक्रीले घेरेको छ । पुरानो बसपार्कमा सवारी पार्किङ्ग गर्न भनेतापनि त्यहाँ पार्किङको राम्रो व्यवस्था तथा सुरक्षा नभएको कारण सर्वसाधारणहरुले सडक फुटपाथमा सवारी पार्किङ गरिरहेका छन् जसले गर्दा फुटपाथबाट हिँड्ने सर्वसाधारणहरुलाई समस्या भइरहेको छ ।वीरगञ्जको घण्टाघरदेखि माइस्थान चोकसम्म र आदर्शनगर चोकदेखि कैलाश चोकसम्म फलामे सिक्री लगाइएको छ तर त्यसको कुनै विकल्प नदिएको कारण सर्वसाधारणदेखि व्यापारीहरु आफ्नो सवारी फुटपाथमा पार्किङ्ग गरिरहेका छन् र आम नागरिकहरु सडकमा हिँड्न बाध्य छन् । ट्राफिक व्यवस्थापनको नाममा फुलामे सिकर लगाइएको छ तर न त्यसको सुरक्षा हुन सकेको छ, न त्यो स्थानको सदुपयोग हुन सकेको छ ।वीरगञ्ज आदर्शनगरका स्थानीय व्यापारी मोहन शर्माले यो सिक्री लगाएर प्रहरी तथा महानगरपालिकाले दुःख मात्रै दिएको बताउँछन् । उनका अनुसार विगत लामो समयदेखि नै यही स्थानमा व्यवस्थित तरिकाले सवारी पार्किङ गरिदै आएको हो तर अहिले आएर फलामे सिक्री लगाएर के गर्न खोजिएको हो ? भन्दै यहाँ सवारी पार्किङ्ग फुटपाथमा र सर्वसाधारणहरु सडकमा हिँड्ने उल्टो कार्य हुने गरेको बताए । सिक्री लगाएर ट्राफिक व्यवस्थापन हुनुको सट्टा झन ट्राफिक अव्यस्थित भएको उनको भनाइ छ ।

यसरी नै ग्रिनसिटि सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले नगरपालिकाले ल्याएको नियम हो, तर यसले ट्राफिक व्यवस्थापन भन्दा पनि अव्यवस्थापन हुन गएको बताए । विकल्प दिएर मात्रै यो नियम लागू गरेको भए सफल पनि हुन्थ्यो तर यसरी सिक्री लगाएर भएको ठाउँ पनि उपयोग हुन नसकेको उनको भनाइ छ । यसमा बसपार्कस्थित पार्किङको ठेक्का पट्टा पाएको ठेकेदार पनि दोषी रहेको भन्दै अध्यक्ष खेतानले राम्रो सोचेर ल्याएको नियम प्रभावकारी नभएको कारण त्यसको उल्टो प्रभाव परेको बताए ।

यसरी फलामे सिक्री लगाएको कारण व्यापार व्यावसायमा पनि समस्या भइरहेको स्थानीय व्यापारी सचिन अग्रवालले बताए । उनका अनुसार पुरानो बसपार्कमा सवारी पार्किङ्ग गरेर एक दुई किलोमिटरसम्म पैदल हिँडेर पसलहरुमा पनि आउन नसक्ने अवस्था रहेको उनको भनाई छ । यहाँ दिनहुँ मोटरसाइकल चोरी हुने गरेको छ, न पार्किङ्गको व्यवस्था छ, न सुरक्षाको ? अनि सडक छेउमा रहेको पार्किङ्ग स्थललाई पनि प्रहरी प्रशासनले सिक्री लगाएर घेरेको छ, यसबाट कसलाई फाइदा भइरहेको छ ? यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com