
काठमाडौं, ११ असोज । काठमाडौं उपत्यकाको मुख्य केन्द्र कान्तिपथमा संचालित ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल कुनैपनि सरकारी निकायमा दर्ता नभएको पाइएको छ । दुईसय बेडभन्दा माथिका अस्पतालहरु संचालन गर्दा स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग वा क्षेत्रीय निर्देशनालयले स्वीकृति दिनुपर्ने प्रावधान छ । तर ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटलले भने नेपाल सरकार अन्तर्गत कुनैपनि स्वास्थ्य निकायमा दर्ता नगरी सेवा संचाल गरिरहेको पाइएको हो ।
स्वास्थ्य मन्त्रालयको पहलमा अस्पतालको कानुनी प्रमाणको खोजी गर्दा यसबारे बैधानिक दर्ता नभेटिएको हो । ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि अस्पताल के कति बेडमा संचालित छन र कहाँ स्वीकृत भएको छ भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई केही जानकारी नभएको बताइएको छ ।
अस्पतालको बैधानिकताबारे सबैको चासो बढेपछि स्वास्थ्य विभागलाई सोध्दा ‘२०७७ असार ३१ गते चलानी नं ४७७ बाट ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि काठमाडौंका नाममा काटेको पत्र भेटिएकाे बताइएकाे छ । जसमा आवश्यक कागजात तुरुन्त उपलब्ध गराउन माग गरिको कागज पत्र मात्रै भेटिएको स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भन्नुभयो । उहाँले भन्नुभयाे – ‘चलानी नं ४७७ बाट ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालिको नाममा काटिएको कागजात तुरुन्त उपलब्ध गराउन माग गरिको कागज पत्र मात्रै भेटिएको छ, त्यो बाहेक अन्य जानकारी छैन ।’
अहिले स्वास्थ्य सेवा विभागले अस्पताललाई छानविनका लागि कागजात मगाएको छ । सरोकारवालाहरुले उजुरी दिएपछि विभागले ३ दिन भित्र कागजात उपलब्ध गराउन पत्र पठाएको हो ।