पोखराको ग्यालेक्सी अस्पतालमा ६ दिने शिशुको उपचारमा लापरवाही, अभिभावक आक्रोशित



प्रकाशित मिति : Sep 27, 2020
  • उत्तम पौडेल

पोखरा, ११ असाेज ।  पोखराको उत्तम चोकमा रहेको ग्यालेक्सी हस्पिटलले बिरामीको उपचारमा पटक-पटक लापरवाही गरेपछि बिरामी र सेवाग्राहीहरू आक्रोशित भएका छन् । ६ दिनको शिशुको उपचारका क्रममा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले लापरवाही गरेपछि डिस्चार्जअगावै बच्चा बोकेर हिड्नुपर्ने स्थिति आएको बिरामीका आभिभावकको गुनासो छ ।

जण्डिस भएपछि ६ दिनको शिशु बोकेर ग्यालेक्सी हस्पिटलमा फोटोथेरापी गराउन पुगेका अभिभावक राजकुमार घिमिरेले अस्पतालको चरम लापरवाही र प्रशासनको बेवास्ताप्रति आक्रोश व्यक्त गर्नुभयो ।

अभिभावक तथा सेवाग्राही घिमिरेले आफ्नो ६ दिनकी छोरीलाई जण्डिस देखिएर गत मंगलबार अस्पतालमा भर्ना गराएका थिए । तर उपचारमा चरम लापरवाही देखेपछि डाक्टरले डिस्चार्ज गर्नु अगावै बच्चा लिएर अभिभावक हिड्नु पर्ने अवस्था आएको घिमिरेले बताउनुभयो ।

६ दिनको बच्चालाई फोटोथेरापी गराउँदा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले दिएको दुःख, मेसिन बिग्रिएर काम नगर्दा समेत ढाँटेर ६ दिनको बच्चामाथि गरिएको लापरवाही र बढी पैसा असुल्ने नियतमाथि बच्चाका अभिभावक घिमिरेले फेसबुकमा आफ्ना पीडा लेखेर अस्पताल प्रशासनले गरेको बेवास्ता र लापरवाहीका बारेमा सार्वजनिक गरेका थिए ।

त्यस अस्पतालमा जाने सेवाग्राहीहरुले सानो बच्चालाई गराइने फोटोथेरापी कुन तापक्रममा दिने, कसरी दिने र फोटोथेरापीले काम गरे-नगरेको निगरानी गर्ने काममा स्वास्थ्यकर्मीहरुको लापरवाही हुने गरेकाे गुनासाे गरेका छन् । ल्याबमा दक्ष जनशक्ति नभएका कारण भोग्नु परेको पीडा र समयअगावै बिरामी लिएर जाँदा समेत लिइने चर्को शुल्क लगायतका विषयमा गुनासो पोखेका छन् । अस्पतालको फोटोथेरापी गर्ने मेशिन बिग्रीएको, ल्याबमा काम गर्ने धेरै कर्मचारी दक्ष नभएको पनि पाइएको छ ।

सोही बिषयमा अस्पतालका मेनेजर दिपेन थापासँग बुभ्दा अस्पतालबाट केही त्रुटि भएको स्वीकार गरेका छन् । कोभिडको कारण देखाउँदै थापाले अस्पतालमा पर्याप्त मात्रामा कर्मचारी नभएको र आफुहरुबाट त्रुटि भएको भन्दै स्वीकार गरेका हुन् । अस्पताल भर्खर मात्र संचालनमा आएको कारणले गर्दा त्रुटिहरु सच्याउँदै लैजाने पनि थापाले स्वीकार गरेका छन् । तर अस्पताल जस्तो संवेदनशील स्थानमा गल्ती गर्ने र त्यसपछि त्रुटि सच्याउँदै लैजाने छुट दिन मिल्ला र ?

त्यसो त पोखराको उत्तम चोकमा रहेको ग्यालेक्सी हस्पिटल मापदण्ड विपरित भवनमा सञ्चालन गरिएको, पार्किडका लागि अगाडिको सार्वजनिक बाटोमा जथाभावी गाडीहरु राखिदाँ बटुवा र स्थानीयहरुले पनि गुनासो गर्दै आईरहेको भएपनि अस्पताल प्रशासनले यस्ता विषयहरुलाई सम्बोधन गर्नुको साटो पेल्दै अघि बढिरहेको छ ।

नितान्त नाफा कमाउने उद्देश्यले मात्र खोलिएका यस्ता अस्पतालहरुबाट सेवाग्राही र विरामीले उपचारका नाममा एकातर्फ धेरै सास्ती व्यहोर्नु पर्ने र अर्को तर्फ चर्को शुल्क बुझाउँदा समेत अनेकन् बाहनामा ठगिदै आईरहनु परेको छ । सम्बन्धीत निकायको बेलैमा ध्यान जान सकेन भने अस्पतालहरुमा हुने लापरवाहीलाई बिरामी तथा पिडितले कहिले सम्म भोग्न बाध्य बन्ने ?


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com