‘हंस’ले पायाे ०७६ सालको पद्मश्री पुरस्कार, पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई



प्रकाशित मिति : Sep 27, 2020

काठमाडाैँ, ११ असाेज । गत २०७६ सालको पद्यमश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीद्वारा लिखित उपन्यास ‘हंस’ लाई प्रदान गरिने भएको छ । खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सामाजिक सञ्जालमार्फत उक्त पुरस्कार हंसलाइ प्रदान गरिने प्रतिष्ठानको निर्णय भएकाे बताएका छन् ।

लामिछानेले लेखेकाे छन्, ‘हंस उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानून तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरेका छन् ।’

यसैगरी पद्मश्री साहित्य सम्मानचाहि वरिष्ठ साहित्यकार माेदनाथ प्रश्रितलाइ प्रदान गरिने निर्णय भएकाे पनि लामिछानेले जनाएका छन् । विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार प्रश्रितलाई पद्यश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको उनकाे भनाइ छ । उनले लेखेका छन्, ‘प्रश्रित पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन् ।’

दुवै पुरस्कार/सम्मानकाे राशि रू ३-३ लाख रहेकाे छ । विसं २०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये एक उत्कृष्ट पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्न सुरू गरेकाे थियाे भने २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने एक वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्न सुरू गरेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com