१० आश्विन २०७७, शनिबार
  • रिया भण्डारी,

काठमाडौं, १० असोज । आफ्नो माग , अभिव्यक्ति,असन्तुष्टि र आक्रोश पोख्ने उत्तम थलो बन्दैछ काठमाडौंको माइतीघर मण्डला । राज्यसंग गाँसिएका कुनै मुद्दा हुन या कुनै दल, समुदाय, समूह र व्यक्तिगतरुपमा सरोकार राख्ने विषय हुन, आवाज घन्काउने र सरकारलाई सुनाउने सबैका लागि सहज थलो बन्दैछ माइतीघर मण्डला ।

कहिले कालापानीमा मिचिएको सीमा यही दुख्छ । विद्यार्थीलाई बिझेको कुरा पोख्ने ठाउँ पनि यही हो । सरकारी कर्मचारीलाई चित्त नबुझेको पानाहरु पनि यही पल्टिन्छन ।

हरेक दिन माइतीघरले कुनै न कुनै समूहको आतिथ्यता स्वीकार्नै पर्छ र यो उनको बाध्यता बन्दै आएको छ । विगत केही दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीका समर्थकहरुको उपस्थिति पनि हरेक दिन यहाँ बाक्लिदो छ ।

शनिबार यहाँ कक्षा ११ र १२ को पाठ्यपुस्तक परिमार्जनको माग गर्दै शिक्षक संघले पनि नाराबाजी गर्न भ्यायो । कोरोना भाइरसको बढ्दो संक्रमणबीच नाराबाजी र भेला गर्ने रहर सायद कसैलाई नहुँदो हो ।

तर यहाँ हरेक दिन बढ्दो भीडमा उभिनेहरुले भने यसतर्फ हेक्का पुर्याएको दावी भने गर्ने गरेका छन् ।

कुनै समय माइतीघर व्यवसायिक केन्द्र थियो । तर यहाँको भौतिक संरचना हटाएर काठमाडौंलाई स्वच्छ सफा र हराभरा राख्ने प्रयास गरियो । माइतीघरले नयाँ रुप त पायो तर यो आन्दोलनका लागि भने उर्वर भूमि बनेर उभियो ।

LIVE TV