कविता : आरूको बियाँ



प्रकाशित मिति : Sep 26, 2020

  • लक्ष्मी मिश्र

बढार
तिम्रो सौखिन आँगनको फोहोर हुँ म
कसिङ्गर न हुँ
मिल्काइदेऊ एउटा घारीमा ।

गुनासो गर्ने छैन कत्ति पनि
किनभने
हिम्मत छ ममा घारीमै बस्न सक्ने
आँट छ घारीमै उम्रन सक्ने
जोश छ घारीमै हुर्कन सक्ने
जाँगर छ ममा घारीमै फुल्न सक्ने ।

हो, म विश्वस्त छु
पक्कै फल्न सक्नेछु घारीमै
लटरम्म एक दिन
र, त्यतिबेला खानेछौ तिमीले
मेरा रसिला फलहरू
भरिला हाँगाहरू लपक्क लप्काउँदै
खुपुखुपु
केही धक नमानी
मुस्कुराउँदै
मेरै फेदमा बसी आनन्द लिनेछौ ।

त्यसपछि पत्याउन सक्छौ र ?
म,
उहीँ आरूकाे बियाँ हुँ,
जसलाई एकदिन तिमीले
मिल्काइदिएका थियौ घारीमा
जसले सहेको थियो एउटा असह्य पीडा
बेस्सरी घारीमा मिल्काइँदाको पीडा ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com