नेपालमा बढ्दो प्राकृतिक विपद् : पूर्वानुमान, जोखिमको स्तर र न्यूनीकरणका उपाय



प्रकाशित मिति : Sep 26, 2020
  • शिलु शर्मा

विपद्ले कहिल्यै जानकारी दिएर आउँदैन भनिए तापनि केही न केही पूर्वसंकेत भने अवस्य दिएको हुन्छ । यस वर्ष १२ जुन,२०२० (जेठ ३०, २०७७) देखि नेपालमा मनसुन भित्रियो । २ दिन ढिला गरी भित्रिएको मनसुनले अहिलेसम्म पनि बितण्डा मच्चाइरहेको छ ।

मनसुन सुरु भएको भोलिपल्टै पर्वत जिल्लामा पहिरो गएको थियो भने असोजको ८ गतेसम्म आइपुग्दा पनि मनसुनी कहर सहनु परिरहेको अवस्था छ । यसपालि प्रि-मनसुनमा नै बढी वर्षा भयो । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बैसाख १ गतेदेखि असोज ८ गतेसम्म बाढी, पहिरो तथा चट्याङबाट ३९१ जनाको मृत्यु भइसकेको छ, ४३६ जना घाइते भएका छन् भने ११० जना हराइरहेका छन् । मनसुन सुरु हुनुभन्दा अगाडि पनि चटयाङले धेरै जनधनको क्षति भइसकेको थियो । सामान्यतया मनसुन १० जुनदेखि सेप्टेम्बर २३ (२८ जेठ देखि ७ असोज) सम्म रहन्छ भने चट्याङ मध्य चैत्रदेखि मध्य असारसम्म बढी रहन्छ ।

मौसमबारे हामी सबैलाई केही न केही जानकारी हुन्छ । हरेक दिन सुनिरहेका हुन्छौं । तर कतिजनाले मौसम बारे गम्भिरतापूर्वक चासो लिएका हुन्छौं त ? सम्पूर्ण नागरिक मौसमसम्बन्धी प्रत्यक्ष सरोकारवाला नहोला तर चासो लिन अति नै आवश्यक छ ।

नेपालमा मनसुन

मौसमसम्बन्धी प्रयोग हुने केही प्राविधिक शब्दहरु पनि छन् जुन शब्दहरु सुनेका हुन्छौं तर बुझिरहेका हुन्नौं । मनसुन, न्युनचापीय वायु, प्रकोप, विपद्, जोखिम आदि शब्दहरु प्रायः प्रयोग हुने गर्दछ ।

मनसुन भन्नाले ऋतु अनुसार चल्ने पूर्वबाट आउने हावाको बहाव भन्ने बुझिन्छ, जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बङ्गालको खाडीको बाटो हुँदै दक्षिणपूर्वी दिशाबाट प्रवेश गर्छ । मनसुनी वायु समुद्रबाट बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ । तसर्थ वायु बहँदा विभिन्न स्थानमा वर्षा हुन्छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार वायुमण्डलमा बन्ने मौसमी रेखा नै न्युनचापीय रेखा हो । मनसुनकाे समयमा घाम बढी लागेका बेला जमिनको सतह बढी तात्छ र वायुमण्डलमा जलवाष्प सहितको हावा बिस्तारै माथितिर सर्छ । जहाँ तातो हावा हुन्छ, त्यो ठाउँमा चाप कम हुन्छ । चाप कम भएको ठाँउमा चारैतिरबाट वायुहरू आउने गर्छ । वायु जति जति माथि जान्छ उति उति नै तापक्रम घट्दै जान्छ । तातो ठाँउबाट वायु माथि चिसो ठाँउमा गएपछि बिस्तारै बाफ बन्न थाल्छ ।

वायुमण्डलले बाफलाई धान्न नसकेपछि बाफ पानी बनेर वर्षन्छ । गर्मीको मौसममा समुद्रबाट बाफ आउँछ र त्यो पछि बादल बन्छ । त्यसरी आएको जलवाष्प न्यून चापीय रेखामा बसेपछि त्यहाँ पानी पार्ने बादलको सिर्जना हुन्छ ।

चट्याङ र अन्य प्रकाेप

चट्याङ खराब मौसमको बेलामा आकाशबाट जमीनमा खस्ने एक प्रकारको विद्युतीय करेन्ट हो । वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकआपसमा ठोक्किँदा चर्काे आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न हुन्छ र ठूलो आगोको मुस्लो निस्किन्छ यसलाई नै चटयाङ भनिन्छ ।

विज्ञका अनुसार नेपालमा मध्य चैत्रदेखि मध्य असारसम्म बढी चटयाङ पर्ने गर्छ । नेपालमा चट्याङको बढी प्रभावित क्षेत्रहरुमा मकवानपुर, मोरङ, झापा तथा चुरेक्षेत्र पर्छन् ।

जलवायु परिवर्तनले प्रकृतिमा नकारात्मक असर पुर्याउन थालेकोले अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ । जलवायु परिवर्तनका कारण नेपालका हिमतालहरु द्रुतगतिमा पछाडि झर्दै र पातलो हुँदै गइरहेका छन् । यो प्रक्रिया हिमनदीय तालहरूको विस्तार हुनुको प्रमुख कारण हो र यसका कारण हिमतालहरू विष्फोट हुने खतरा बढेको छ ।

त्यस्तैगरी प्रकोप भन्नाले अचानक हुने दुर्घटना वा प्राकृतिक तथा भौतिक विनास हो । बाढी, पहिरो, भूकम्प, चट्याङ, डुवान, खडेरी आदि प्राकृतिक प्रकोप हुन् । प्रकोपले प्राकृतिक विपद् ल्याउँछ । विपद् प्रकोपले निम्त्याएको अवस्था हो । बाढी, पहिरो, भूकम्प, चट्याङ, डुवान, खडेरी आदि प्राकृतिक प्रकोप आइसकेपछि देखिने अवस्थाहरु जस्तैः मानवीय क्षति, प्राकृतिक क्षति, भौतिक क्षति तथा आर्थिक क्षति हुन्छ त्यो नै विपद् हो । त्यस्तैगरी जोखिम भन्नाले सम्भावित क्षति, हानि वा खतरा हुने अवस्था हो ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलका अनुसार उदाहरणका लागि विपद् जोखिमलाई प्रकोप (भुँइचालो), सम्मुखता (घर भत्कनु) तथा संकटासन्नता (अपाङ्गता/मृत्यु) सङ्ग जोडेर बुझ्न सकिन्छ । यदि मानव बस्तीमा प्रकोप आयो भने मानवीय क्षतिको जोखिम बढी हुन्छ भने मानव बस्ती नभएको ठाँउमा प्रकोप आयो भने मानवीय क्षतिको जोखिम शुन्य हुन्छ । प्रकोप, विपद् र जोखिम एक-आपसमा अन्तरसम्बन्धित छन् ।

प्राकृतिक विपदमा नेपालकाे स्थान

प्राकृतिक विपद्को श्रेणीमा नेपाल विश्वमा चौथो स्थानमा आउँछ । विपद् विज्ञ डा. गंगालाल तुलाधरका अनुसार नेपाल जलवायु परिवर्तनबाट हुने जोखिममा चौथो, भूकम्पीय जोखिममा ११ औं, बाढी पहिरोको जोखिममा ३०औं तथा हिमताल फुटेर हुने जोखिममा ४० औं स्थानमा छ । र, समग्र जोखिममा नेपाल २० औं स्थानमा छ । यसै अनुसार पनि हामी कति जोखिममा छौं भन्ने कुरा आँकलन गर्न गाह्राे छैन ।

मनसुनको समयमा सिर्जित विपद्हरूमा अतिजन्य वर्षा, बाढी (डुबान), पहिरो, चट्याङ, सर्पदंश, हिमपहिरो आदि रहेका छन् । २०७५ चैत्रमा बारा, पर्सा लगायतका जिल्लामा आएको भीषण हावाहुरी (TORNADO) भएको पुष्टि गरिएको थियाे । अविरल वर्षाबाट सिर्जित बाढी र पहिरोबाट ठूलो क्षति बेहोर्नु परिरहेको छ । हरेक वर्ष मनसुनको समयमा नेपालमा बाढी पहिरोको जोखिम बढी हुने गर्दछ । पहाडी क्षेत्रमा बढी पहिरोको जोखिम देखिन्छ भने तराई क्षेत्रमा बाढी र पहिरोको जोखिम हुने गर्दछ ।

त्यस्तैगरी हिमाली क्षेत्रमा हिमपहिरो तथा हिमताल फुट्ने जोखिम छ । नेपालका ५ हजार हिमतालहरुमध्ये ४ वटा हिमताल विष्फोटनका अति जोखिमअन्तरगत पर्छ । नियमित रुपमा बाढी-पहिरो जानुमा प्राकृतिक तथा मानवजन्य कारण नै देखिन्छ । विज्ञका अनुसार हिमालय क्षेत्र विश्वको सबैभन्दा बढी जोखिम क्षेत्रको रुपमा रहेकाे छ । प्रकृतिमाथि मानवीय अतिक्रमणका अतिरिक्त भारी वर्षा, उच्च ओसिलोपन पनि विपदका कारण हुन् । त्यसैले नेपालमा बाढी-पहिरोजस्तो प्रकोपले वर्षेनी जनधनको ठूलो मात्रामा क्षति पुर्याउँदै आएको छ । याे बढ्दाे क्रममा देखिन्छ ।

मौसम पूर्वानुमानकाे इतिहास

नेपालमा मौसम पूर्वानुमानसम्बन्धी निकायको स्थापना नै हवाई मौसमलाई लक्षित गरी शुरु गरिएको थियो । सुरुदेखि नै मौसम पूर्वानुमान महाशाखाले हवाई तथा जनसाधारणका लागि समेत मौसम पूर्वानुमान सेवा प्रदान गर्दै आइरहेको छ । नेपालमा मौसम पूर्वानुमानसम्बन्धी सेवा २०२५ पौष १ गतेबाट शुरु गरिएको हो । जल तथा मौसम विज्ञान विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित मौसम पूर्वानुमान महाशाखाबाट मौसम पूर्वानुमानसम्बन्धी सेवा प्रवाह हुँदै आएको छ ।

जल तथा मौसम विज्ञान विभागले स्याटेलाइट इमेजको माध्यमले तथा २३ भाद्र २०७३ मा जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा वेबसाईटमार्फत मौसमसम्बन्धी सही सूचना प्रवाह गर्नका लागि वेबसाइट निर्माण गरेको थियो । सो वेबसाइट मार्फत तीन दिन पछिसम्मको मौसम पूर्वानुमानबारे सूचना तथा चेतावनी हेर्न सकिन्छ । यसमा नेपालभरिको वर्षा, वायुको तापमान र वायुको गति सम्बन्धी घण्टा-घण्टाको मौसमी पूर्वानुमान तथा देशका मुख्य सहर र भाैगाेलिक स्थानकाे तापक्रम उपलव्ध हुन्छ । यस प्रविधिबाट वायुको बहाव, न्यूनचापीय र अधिकचापीय क्षेत्रको अवस्था लगायतको विश्लेषण र हरहिसाब गरी मौसमबारे भविष्यवाणी गरिन्छ ।

यस वर्ष बढी वर्षा, बढी क्षति

यस पटकको मनसुनमा कल्पनाभन्दा बढी नै मानवीय क्षति भएको छ । यसका विविध कारण हुन सक्छ । प्रि-मनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक औसतभन्दा बढी वर्षा भयो । ०७२ सालकाे विनाशकारी भूकम्पले जमिन थिलथिले बनाएको, चिरा पारेको ठाउँबाट पानी पसेको कारणले पनि सामान्य पानी पर्दा समेत पहिरो खस्न सक्ने तथा नदीमा एक्कासि बाढी बढ्ने जस्ता जाेखिम निम्तिएका छन् । सिन्धुपाल्चाेकमा यस वर्ष भएका सबैभन्दा बढी क्षति यही कारणले रहेकाे विज्ञहरू बताउँछन् ।

नेपालको भूबनोटमा विविधता छ । उत्तरी क्षेत्रमा हिमाली भाग पर्छ । हिमाली क्षेत्रमा हिमपहिरो जाने र हिमताल फुट्ने जोखिम छ । पहाडी भेगमा सुख्खा पहिरो तथा भेल पहिरोको जोखिम पनि उत्तिकै छ । तराई क्षेत्र हरेक वर्ष बाढी र डुबानको मारमा पर्ने गरेका छ । अव्यवस्थित शहरीकरण र अप्रबन्धित र अवरुद्ध ढल निकास प्रणालीले पनि डुबानको समस्या हुन्छ ।

विपदका कारण र जाेगिने उपाय

देशको मौसमी अवस्था, नाजुक भूविज्ञान र अन्य प्राकृतिक कारणहरू प्राकृतिक विपदका लागि मुख्य रूपमा जिम्मेवार छन् । तर प्राकृतिक प्रकोपहरूलाई निम्त्याउने यो एक मात्र कारक भने होइन । जथाभावी वन फडानी, नदीजन्य प्राकृतिक स्रोतको अनियन्त्रित शोषण, बाटाे खन्ने क्रममा पछिल्लाे समय जथाभाबी डाेजरहरूकाे प्रयाेग, चुरे र पहाडी भूभागमा विकासका नाममा भएका ज्यादतीजस्ता मानवीय क्रियाकलापहरूले जल प्रकोपलाई उत्प्रेरित गर्न र  प्राकृतिक प्रकोप बढाउन भूमिका खेलिरहेका छन् ।

प्राविधिक वा विज्ञहरूसँग परामर्श नगरी जोखिमयुक्त क्षेत्रमा विकास निर्माण गर्ने परिपाटीले थप संकट ल्याइरहेको छ । खोला वा नदीवरिपरि कुनै संरचना निर्माण सो क्षेत्रमा जथाभावी निर्माणले विनाश निम्तिएको देखिन्छ । भूकम्प तथा पहिरोजस्ता प्राकृतिक प्रकोपको पूर्वानुमान गर्ने संयन्त्रको अभावले पनि जोखिम न्युनिकरणमा समस्या देखिएको छ ।

केही वर्ष अघिसम्म प्राकृतिक विपद्लाई दैवी प्रकोप मानेर जोखिम पीडितहरुलाई केही थान राहत बाँडेर आफ्नो जिम्मेवारी पूरा गरेको ठान्ने सरकारी निकायमा केही सकारात्मक परिवर्तन आएको अनुभव गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०१७ का अनुसार २९ मंसिर, २०७६ सालमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्थापना हुनु एउटा सकारात्मक पहल मानिएको छ । भर्खर स्थापना भएको प्राधिकरणले दिनहुँ विपद्सम्बन्धी पूर्व-सूचना सम्प्रेषण गरिरहेको छ ।

त्यस्तैगरी जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी सही पुर्वानुमान गर्दै नागरिक समक्ष सूचना पुर्याइरहेको छ । यस्ता सही सूचनाहरुबाट नागरिकहरुले हुनसक्ने जोखिमबाट सुरक्षित हुने अवसर पाइरहेका छन् ।

प्राकृतिक प्रकोप तथा विपद्सम्बन्धी विभिन्न सरोकारवाला निकायहरु बीचको सामञ्जस्यताले केही हदसम्म जोखिम कम त हुनेहुन्छ नै, पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभ जस्ता कार्यलाई द्रुतगतिमा लैजाने हो भने जोखिम न्युनीकरण हुने सम्भावना अझ बढी हुनसक्छ । अनियन्त्रित वनफडानी, डँढेलाे नियन्त्रण गर्नुका साथै जनचेतना फैलाउने काम विपदबाट जाेगिने प्रयास हुन् । साथै विकास निर्माण कार्य गर्दा विज्ञद्वारा भूबनाेट तथा माटाेकाे अध्ययन विश्लेषण गरेर मात्र गर्ने र जथाभावी डाेजरहरू प्रयाेग नगर्ने र ढुंगा, बालुवा, गिट्टीजस्ता निर्माण सामग्रीकाे अनियन्त्रित दाेहन राेक्ने हाे भने पनि धेरै हदसम्म यस्ता विपदबाट जाेगिन सकिन्छ ।

 – सन्दर्भ श्रोत : विज्ञसँगको कुराकानी, विभिन्न वेबसाइट, रिपाेर्ट, जर्नल तथा पत्रपत्रिकाहरू ।

(लेखिका नेपाली सांकेतिक भाषामा समाचार प्रस्तोता समेत हुनुहुन्छ)

 

 

 

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com