कविता : समय



प्रकाशित मिति : Sep 26, 2020

  • आशीष भण्डारी

मानौँ समय अन्धकार छ
अन्धकार नै छन् ती स्वासहरु पनि
जो हरेक पल
फेरिनका लागि पनि समय नै कुर्नुपर्छ ।

अस्ताउँदो घाम,
समुन्द्रमा विलिन भएको नदी,
कृष्णपक्ष लागेकाे चन्द्रमा
अनि जिन्दगीको उत्तरार्द्ध
सबैसबै समयसँगै अस्ताउँदै जाने त हुन् ।

ती घमण्डका गाँठाहरू
रीस र रागका पोकाहरू
धुर्त्याइँ बुद्धि
अनि अपरिचित आवेगहरू,
जो हरपल सम्हाल्न सकिँदैन
सम्हालिहाले पनि पोलिरहन्छ
र, एकदिन पोलिँदापोलिँदै बिलिन हुन्छ
यही अदृश्य समयसँगै ।

असारमा बर्षिने झरी,
मंसिरमा लहलह झुलेको बाली,
चैत्र मासको वसन्त अनि बसन्ती याम
कहिल्यै सकिँदैन झैँ हुन्छ ।

सधैँसधैँ सुस्ताइरहन्छु भन्छ
यही प्रकृतिको काखमा,
तर अफसोच-
समय कहाँ एकनाश हुने रैछ र ?

यी सबै-सबै क्षणभरका लागि मात्र रम्ने त रैछन्
र, बिस्तारै बिलिन हुन पुग्ने रैछन्
यही अदृश्य समयसँगै ।

ती हरिया गाउँका परेलीहरू
छताछुल्ल पोखिएका बगरहरू
एकतमास बगिरहने खहरे
अनि सुन्दरताको अनुपम उदाहरण
आज
बस्तिका लक्काजवान अनि पाखुरेहरु
भएपछि निष्ठुरी
पसेपछि सहर
गर्न सक्दैनन स्याहार
ती बुढापाका र केटाकेटीहरूले
त्यसैले त
आज सबैसबै
मरुभूमिमा परिणत भएको छ
यही अदृश्य समयसँगै ।

कहिलेकाहिँ त सोच्छु-
बग्दै-बग्दै जानु छ मलाइ दूरसम्म
नभेटून् कसैले
खोज्न पनि नआउन्
छोडिदिउन् त्यो आकाशको स्वतन्त्र पंक्षीझैं ।

चाहन त म कि आकाश छुन
कि त जमिनमै बिलिन हुन चाहन्छु
तर फेरि यही समय नै बाधक बनिदिन्छ
त्यसैले त सधैँसधैँ
खै किन हो
दिन मधुरो अनि रात उज्यालो
देख्न थालेको छु ।

जिन्दगीको क्यानभासमा
कोर्नु छैन मलाई रंगीन चित्रहरू
र, बन्नु पनि छैन-
कसैको स्वामित्वमा अडिने सुगाजस्तो
बस् अब यत्ति चाहन्छु-
यही अदृश्य समयसँगै बिलिन भएर
दुनियाँलाई समय चिनाउन सकूँ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com