९ आश्विन २०७७, शुक्रबार

काठमाडौं, ९ असोज । बलिउड तथा साउथ इन्डियन फिल्मका लेजेन्डरी गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार (आज) ७४ वर्षको उमेरमा गायक एसपी बालासुब्रमण्यमको निधन भएको हो ।

गत अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि गायक एसपी बालासुब्रमण्यमलाई अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । कोरोनाकै कारण उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अगस्ट १४ देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा सेप्टेम्बर ४ मा गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको बताइएको थियो । १९६० को दशकमा गायनमा आफ्नो करियर सुरु गरेका गायक एसपी बालासुब्रमण्यमले १६ भाषामा करिब ४० हजार गीतहरुमा आवाज दिइसकेका छन् ।

उनले सलमान खानको सुपरहिट फिल्म ‘मैने प्यार किया’, ‘साजन’, ‘हम आपके हैं कोन’लगायतमा आवाज दिएका थिए । उनको गीतकै कारण पनि बलिउडका सुपरस्टार सलमान खानले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए ।

LIVE TV