९ आश्विन २०७७, शुक्रबार

सप्तरी, ९ असोज । कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा भदौ २५ गते संक्रमण पुष्टि भएपनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको उनका छोराले बताए । रक्तचापका बिरामी रहेका उनको अवस्था गम्भीर भएपछि १२ दिनअघि उपचारार्थ धरान भर्ना गरिएको थियो ।

उनको शव अहिले धरानमै रहेको बताइएको छ । उनका जुम्ल्याहा दाजुको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा गत भदौ १३ गते बाटा नै मृत्यु भएको थियो ।

दाजुको पीसीआर परीक्षण भने गरिएको थिएन । योसँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

LIVE TV