९ आश्विन २०७७, शुक्रबार

रसुवा, ९ असाेज । जिल्लाको उत्तरगया गाउँपालिका–४ ढुंगेमा रहेको घलेगढी जहाँ विशाल ढुंगा रहेको छ । ढुंगा यति विशाल छ कि, त्यसभित्र सुरुङसमेत रहेको छ जहाँबाट हाम्रा पुर्खाले तिब्बती फौजमाथि तोप वर्षाएर विजय हासिल गरेका थिए । गुफामा तिब्बती पक्षबाट हानिएको तोप लागेका डोबहरू आज पनि देख्नसकिन्छ ।

घलेगढी एउटा सिङ्गो पहाडभित्र डरलाग्दो गुफा, गुफाभित्र त्यति बेलाको सैनिकले युद्ध लड्ने सामान, खाना खान मिल्ने, खर–खजाना राख्न मिल्ने ठाउँ रहेको छ । पानीका गाग्री र भाँडाकुँडासमेत राख्ने घरजस्तै संरचना ढुंगाभित्र रहेको गुफामा देखिन्छ ।

घलेगढीको ढुंगामाथि नेपाली फौजी र त्यसभन्दा माथि कमेरेगढी रहेको छ । अन्नतः त्यहाँबाट लखेटिएको तिब्बती फौजसँग रसुवागढीमा सन्धि भयो ।

उत्तरगया गाउँपालिका–४ का वडाध्यक्ष केशरबहादुर बुलुनका अनुसार यस ढुंगाभित्र ढुंगे गाउँका गाउँले आजभोलि गर्मीयाममा शीतलताका लागि आएर बस्ने गर्छन् ।

यहाँ प्रकृतिसँग रमाउन वनभोज खान तथा फोटो खिच्न मात्रै भए पनि दैनिक मानिसको भीड लाग्छ । घलेगढीको अलि पर ठूलो चउर छ, जो पोखरीजस्तै देखिन्छ । त्यहाँ भगवान् शिवले गोसाइँकुण्ड बनाउन पोखरी बनाउँदै गर्दा कुखुराको भाले बसेपछि ओहो यहाँ बस्नुहुँदैन भनेर त्यहाँबाट शिव भगवान् हिँडेको भन्ने किम्बदन्ती रहेको छ ।

गणेश हिमालको मनमोहक दृश्य तथा वन–जंगल, पाखा–पहराले यहाँ आउने जो–कोहीलाई मोहनी लगाउँछ । ‘पुर्खाले आफ्नो स्वाभिमान, वीरता प्रदर्शन गरेर भावी सन्ततीका लागि जोगाएर राखेको आस्थाको धरोहरलाई नजिकबाट नियाल्न हामी सबैलाई आअ्वान गर्छाैं।’ –वडाध्यक्ष बुलुन भन्नुहुन्छ । यो खबर आजको समाचारपत्र दैनिकमा छापिएको छ ।

LIVE TV