९ आश्विन २०७७, शुक्रबार
  • काेकिला भण्डारी

धनकुटा, ९ असाेज । अविरल वर्षाका कारण पहिराे जाँदा धनकुटामा पनि धनजनकाे क्षति हुन थालेकाे छ । केही दिन अघिदेखिकाे अविरल वर्षाका कारण सल्लेरी राष्ट्रिय सामुदायिक वनका उमेर पुगेका रूखहरू सडकमा ढल्दा  सवारी आवागमनका साथै पैदल यात्रुहरूलाई समेत आवातजावतमा समस्या हुन थालेकाे छ ।

विगतका दिनदेखि नै सल्लेरीमा रहेका रूखहरू कतिबेला ढल्छन् पत्तै नहुने स्थानीयहरूकाे भनाइ छ । कतिबेला यिनै रूखहरूले किचेर हिँड्दाहिँड्दै मरिने पाे हाे कि भन्ने स्थानीयमा त्रास फैलिएकाे छ । सल्लरी हुँदै कागतेसम्म पुग्ने कालाेपत्रे सडकछेउका सल्लाे र उतिसका रूखहरू कटानका लागि पटकपटक स्थानीयहरूले आवाज उठाइरहे तापनि कार्यान्वयन भने हुन सकेकाे छैन ।

यस्तै, अविरल वर्षाका कारण भान्साघर भत्किँदा महालक्ष्मी नगरपालिकाका वडा नं. ९ मूर्तीढुंगा निवासी टाङ्गबहादुर आङ्लाकी ७ महिनाकी नातिनीकाे माटाेले पुरिएर मृत्यु भएकाे छ भने पशु तथा पंक्षीहरु र अन्नपानी, भाडाबर्तन समेत पुरिएर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । तत्कालका लागि पीडित परिवारलाई विभिन्न संघ-संस्थाहरूबाट नगदसहित राहात वितरण कार्य शुरू गरिएकाे छ ।

LIVE TV