८ आश्विन २०७७, बिहीबार
  • दान बहादुर बुढा,

मुगु, ८ असोज । मुगु–चीन सिमानामा रहेको १३ नम्बरको सीमा स्तम्भको स्थलगत निरीक्षणका लागि मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाको नेतृत्वमा एक टोली सीमातर्फ गएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली, शसस्त्र प्रहरीसहित सुरक्षा निकायका प्रतिनिधि गरी १४ जनाको टोली स्तम्भ तथा सीमा अनुगमनमा निस्किएको हो ।

उक्त टोलीले सीमा क्षेत्रका समस्याबारे चिनियाँ अधिकारी र स्थानीयसँग छलफल गर्ने भएको छ । सीमामा रहेका स्तम्भको अवस्था के छ, कति छन् ? भन्ने अनुगमन समेत गरिने बताइएको छ ।

सो टोलीले सीमास्तम्भबारे सत्यतथ्य प्रतिवेदन पेश गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । प्रजिक निरैलाका अनुसार मुगु–चीन सिमानामा १३ नम्बरको सीमास्तम्भ गाडिएको छ ।

उनले भने, ‘टोलीले तिब्बती जनप्रतिनिधिसँग भेटेर सीमा सुरक्षाबारे आवश्यक छलफल गर्नेछ । दुई देशका प्रतिनिधिले सीमा क्षेत्रका समस्याबारे पनि अनुभव साटासाट गर्नेछन् ।’ त्यस्तै, उनले गमगढीदेखि हिँडेको टोलीलाई चीन सिमानामा पुग्न ४ दिन र फर्कन ४ दिन लाग्नेसमेत बताए ।

चीनतर्फ खटिएको उक्त टोलीले मुगु गाउँमा सशस्त्र प्रहरीको क्याम्प स्थापनाका लागि जग्गाको टुंगो समेत लगाउने छ । जग्गाको टुंगो लाग्नासाथ सदरमुकामबाट सुरक्षाकर्मीको टोली पठाइने जनाइएको छ ।

सीमामा सुरक्षा बल नहुँदा प्रहरी चौकी, मुगुगाउँको टोलीले सामान्य सुरक्षाको काम मात्रै गर्दै आएको छ ।

 

LIVE TV