८ आश्विन २०७७, बिहीबार
  • बाल बिक्रम कार्की,

रौतहट, ६ असोज । इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका प्रमुखसहित ११ जना प्रहरी कोरोना संक्रमणमुक्त भएका छन् ।

विहीबार (आज) कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही, एकजना प्रहरी निरीक्षक, एकजना प्रहरी नायव निरीक्षक, दुईजना प्रहरी सहायक निरीक्षक, चारजना प्रहरी हवल्दार र दुईजना प्रहरी जवान कोरोनामुक्त भएका चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले जानकारी दिए ।

उनका अनुसार चन्द्रपुर–२ मा रहेको अस्थायी कोरोना अस्पतालबाट प्रहरीसहित अन्य पाँचजना सर्वसाधरण पनि कोरोनामुक्त घर फर्किएका छन् ।

गत भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको आफ्नै क्वाटरको आइसोलेसनमा बसेका प्रहरी नायव उपरीक्षक शाहीले आफूले दृढ आत्मबल, नियमित व्यायम, सन्तुलित भोजन र जडिबुटीको सहायताले कोरोना जित्न सफल भएको बताए ।

त्यस्तै, उनले नियमित रुपमा जनताको सेवामा फर्किन पाएको खुसी व्यक्त गर्दै अब थप उत्साहको साथमा जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउन लागिपर्ने बताए । सुरू सुरूमा अत्यधिक थकाइ लाग्ने तथा स्वाद थाहा नपाउने लक्षण देखिएको तर, अन्य स्वास्थ्य समस्या भने नआएको उनले बताए ।

एकैदिन संक्रमण पुष्टि भएका उक्त कार्यालयमा कार्यरत एक प्रहरी निरीक्षकसहित आठ प्रहरीको भने रिपोर्ट पुनः पोजेटिभ आएको छ । उनीहरूको अब केही दिनपछि पुनः स्वाब परीक्षण गरिने प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

जिल्लामा बुधबारसम्ममा १ हजार ८२९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये १ हजार ६४४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणकै कारण ७ जनाले ज्यान गुमाएका छन्, भने ९ सय ७२ जनाको स्वाव परीक्षणको रिपोर्ट आउन बाँकी नै रहेको छ ।

LIVE TV